वीरगन्जबाट झन्डै ३१ अर्ब बराबरका नेपाली उत्पादन निकासी
वीरगञ्ज । वीरगन्जको एकिकृत जाँच चौकी आईसिपीबाट चालु आर्थिक वर्षको ३ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ ३० अर्ब ९७ करोड ५३ लाख ४६ हजार मूल्य बराबरका नेपाली उत्पादन निकासी भएको छ ।
भटमासको प्रशोधित तेल मात्रै १४ अर्ब ३६ करोड ३५ लाख ६५ हजार बराबरको ६ करोड ३३ लाख ९९ हजार २ सय २९ किलो निर्यात भएको बीरगंज भन्सार कार्यालयको जनाएको छ ।
त्यसैगरी प्रशोधित पाम आयल ९ अर्ब ९० करोड ६४ लाख मूल्य बराबरको निर्यात भएको छ भने डाबरको उत्पादन तथा अन्य फलफूलको जुस १ अर्ब ५१ करोड ४७ लाख ४६ हजार मूल्य बराबरको निकासी भएको छ ।
त्यसैगरी सूर्यमुखी प्रशोधित तेल १ अर्ब ४२ करोड ५१ लाख २७ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने भटमासको पिना मात्रै ६१ करोड ३६ लाख ९४ हजार रुपैयाँको भारततर्फ निकासी भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यसैगरी बीरगंज भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ जमोठ कपडा, बतिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्ट सुज, सेन्थेटिक सुज, दन्त मन्जन, ऊनी गलैँचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधी, तयारी कपडा लगायतका सामानहरू भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्