डुडुल चैत्य कर्णालीकै आकर्षक पर्यटन गन्तव्य : मन्त्री श्रेष्ठ

जुम्ला । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले जुम्लास्थित देशकै दोस्रो अग्लो डुडुल चैत्य कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको बताउनुभयो । जुम्ला सहित कर्णालीमा रहेका ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलमा पर्याप्त पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएमा पर्यटनबाटै कर्णालीमा समृद्धि भित्रिने उहाँको भनाई छ ।
बुधवार जुम्लामा रहेको डुडुल चैत्यको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जुम्ला स्थित नेपालकै दोस्रो अग्लो डुडुल चैत कर्णालीकै मुख्य तथा आकर्षक पर्यटकीय गन्तव्य भएकोले थप पूर्वाधार विकासमा लगानी गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो,“देशकै दोस्रो अग्लो डुडुल चैत्य गुम्बामा दैनिक सयौँ आन्तरिक पर्यटक आउँछन् । जुम्लामा आउने बाह्य पर्यटक डुडुल चैत्य नपुगी फर्किँदैनन् । यहाँको थप पूर्वाधार विकासमा जोड दिन आवश्यक छ ।”
भोट समुदायको आफ्नै लगानीमा निर्माण भएको उक्त गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रित गरेको छ । कर्णालीको अपार सुन्दरतामा डुडुल चैत्यले सुगन्ध थपेको मन्त्रीको श्रेष्ठको भनाई छ ।
उहाँले थप्नुभयो,“जुम्ला सदरमुकाम खलङ्गामा निर्माण भएको डुडुल चैत्य पर्यटन आकर्षणको केन्द्र बनेको छ । डुडुल चैत्य सँगै जुम्लाका अन्य पर्यटकीय स्थलमा लगानी अभावले ओझेलमा छन् । चैत्य सँगै अन्य पर्यटकीय क्षेत्रलाई थप आकर्षण बनाउनको लागि आवश्यक पूर्वाधार निर्माणका लागि चाहिने बजेट व्यवस्थापनका लागि पहल गर्ने छु ।”

मुगाली समाजले निर्माण गरेको डुडुल चैत्य गुम्बाले जुम्लाको पर्यटन क्षेत्रको विकासमा इट्टा थपेको पूर्व पर्यटन राज्यमन्त्री बल बहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो,,“मेरो कार्यकालमा जुम्लामा करिब डेढ सय बढी गुम्बा,ऐतिहासिक मन्दिर तथा पुरातात्त्विक सम्पदा निर्माण गरेको छु । सङ्घीयतापछि कर्णाली प्रदेशका पर्यटन क्षेत्रमा लगानी न्यून छ । सरकारले रोजगारी सृजना सँगै आर्थिक संवृद्धिका लागि पर्यटन क्षेत्रमा लगानी गर्न आवश्यक छ ।”
मुगाली समाज जुम्लाका अध्यक्ष निर्बु वाङदे तामाङले जुम्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न,पर्यटकलाई आकर्षण गर्न भोटे मुगाली समुदायको करिब २९ करोड निजी लगानीमा डुडुल चैत्य निर्माण गरिएको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा हिमालयन पिस एसोसिएसन काठमाण्डौँले आफ्नो चल,अचल सम्पत्ति डुडुल चैत्यलाई हस्तान्तरण गरेको थियो ।
बौद्ध गुरु खेम्पो गिर्मे छिल्टुङले शान्ति पूजा गरेका थिए । भने, पूर्व बन राज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता भक्तबहादुर रोकाया,जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत सहभागिता रहेको मन्त्रीका प्रमुख स्वकीय महेन्द्र कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्