विवादका कारण इजलास नबसेपछि सयौँ मुद्दाको सुनुवाइ रोकियो

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने भन्दै न्यायाधीशहरुले इजलास बहिस्कार गरे पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा मुद्दाको सुनुवाइ गर्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले आज गठन गर्नुभएको ११ इजलासमा सुनवाइका लागि २ सय ७८ मुद्दाको पेशी तोकिएको थियो । तीमध्ये प्रधानन्यायाधीश जबराले आफुमात्र रहने गरी तोकिएको एकल पूर्ण इजलास बाहेक अन्य सबै इजलासमा मुद्दाको सुनवाइ हुन सकेन ।
आजका लागि गठन गरिएको इजलासमध्ये प्रधानन्यायाधीश जबराको पूर्ण एकल इजलासले आज ५ वटा मुद्दामा सुनुवाइ गरेको छ ।
सर्वोच्च अदालतका १५ न्यायाधीश प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै इजलास बहिस्कार गरेका कारण तीन दिनदेखि मुद्दाको सुनुवाइ रोकिँदै आएको छ ।
मङ्गलवार प्रधानन्यायाधीश जबराले १५ न्यायाधीशसँग राजीनामा नदिने अडान राखेपछि असन्तुष्ट न्यायाधीशहरू इजलास बहिस्कार गरी आज पनि छलफलमा बस्नुभएको थियो ।
यसअघि मङ्गलवार नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आव्हान गरेको थियो ।
कानुन व्यवसायीका तर्फबाट प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए इजलासमा बहस रोक्न सुझाव दिए पनि बहस रोक्ने÷नरोक्ने भन्ने विषयमा निर्णय भई नसकेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
जबराले राजीनामा नदिए बारले देशभर आन्दोलन गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।
यसअघि सर्वोच्चको पूर्ण बैठक बहिस्कार गर्नुभएका असन्तुष्ट न्यायाधीशहरुले पूर्व न्यायाधीश शारदाप्रसाद पाण्डितको निधनप्रति शोक प्रस्ताव पारित गर्न आज बसेको पूर्ण बैठकमा भने सहभागी हुनुभएको छ ।
सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधवार बिहान निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्