वर्षाले तटीय क्षेत्रमा लगाइएको केरा खेतीमा ठुलो नोक्सानी

कञ्चनपुर । मनसुन सकिएपछि अविरल रुपमा परेको वर्षाले तटीय क्षेत्रका स्थानीयले लगाएको केरा खेतीमा ठुलो नोक्सानी पुर्याएको छ ।
वर्षा र बाढीले कञ्चनपुरमा डेढ सय विगाहको केरा खेती नष्ट भएको छ ।
अविरल वर्षा र बाढीले फलेको केरा खेतमै डुबान र ढलेर नष्ट भएसँगै व्यावसायिक रुपमा केरा खेती गर्दै आएका किसान मर्कामा परेका छन् । व्यावसायिक रुपमा केरा खेती गरिरहेका किसानको व्यवसाय नै चौपट भएको छ ।
भीमदत्त नगरपालिका–१० जिमुवाका केरा किसान कृष्णदत्त भट्टले दुई बिगाहा लगाएको केरा खेती वर्षाले नष्ट गरिदिएको बताउनुभयो । “मैले दुई विगाह जमिनमा तीन हजार बोट लगाएका थिए”, ‘उहाँले भन्नुभयो, ”६ सय घरी केरा बेचे, दुई सय घरी केरा नष्ट भयो ।”
त्यस्तै, लालझाडी गाउँपालिका–३ नन्दगाउँका बहाली रानाले १५ कट्टामा केरा खेती गर्नुभएको थियो । “केरा बेच्ने समयमा पानी आएर नष्ट भयो”, ‘उहाँले भन्ननुभयोे, “बाँकी बचेको केरा बेच्नका लागि समेत साहु पाइएको छैन ।”
त्यसैगरी, पुनर्वासका किसान जनक धामीले वर्षा र बाढीले आफ्नो ५ विगाहको केरा मध्ये ६० प्रतिशत नष्ट भएको बताउनुभयो । “भारी वर्षाले केरामा भारी लोड भई थाम्न नसक्ने अवस्थामा परेको केरा खेतमै ढल्यो, पानीमा परेर कुँहियो ।” उहाँले भन्नुभयो ।
विपद्ले केरा खेती गरिरहेका किसानले ठुलो नोक्सानी बेहोर्नु परेको बताउँदै उहाँले केरा खेती गर्ने किसानका लागि विशेष राहत, क्षतिपूर्तिको व्यवस्था नगरे कयौँ किसान केरा खेतीबाट पलायन हुनुपर्ने अवस्था सृजना भएको बताउनुभयो ।
“व्यावसायिक रुपमा केरा खेती गरिरहेका किसानलाई यस सिजनमा ठुलो घाटा भएको छ, ‘उहाँले भन्नुभयो, ‘बैङ्कको ब्याज र लगानी उठाउन समेत समस्या भएको छ, यसमा सरकारी निकायले ध्यान दिनुपर्छ ।”








प्रतिक्रिया राख्नुहोस्