तपाईँ सुन्दै हुनुहुन्छः

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताउनुभएको छ । 

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताउनुभएको हो । 

“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

उहाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अदालत भित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।”

उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल काङ्ग्रेसकै नेता भएको समेत स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिनुभएका युवाहरूका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुदृढ र सफल बनाउन तरुण युवाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

“काँग्रेसको महत्त्वपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरू एकजुट र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो । 

गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको बताउँदै यसलाई सफल बनाउन तरुण युवाको उत्तिकै भूमिका रहेको स्पष्ट पार्नुभयो ।

काँग्रेसले आफ्ना पार्टीका नेतालाई आलोचना गर्ने परिपाटीको अन्त्य भए मात्र पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने बताउनुभयो । 

कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरू लाग्नुपर्ने बताउनुभयो ।

उहाँले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो कांग्रेस निर्माणका लागि युवाहरू एकजुट हुन आग्रह गर्नुभयो । युवाहरू देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो । 

तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्व मन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिका विरुद्ध सधैँ तरुण दल खरो भएर उभिने बताउनुभयो । 

कार्यक्रममा गृहमन्त्री खाँण र खानेपानी तथा सरसफाइ मन्त्री चौधरीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

यस्तै दलका पूर्वाध्यक्ष यादव, विनोदप्रकाश कायस्थ, उदयशमशेर राणालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तरुण दलको गीत रचना गर्नुभएका सञ्चारकर्मी एवम् साहित्यकार डा नवराज लम्साललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जन निर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । 

पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनर्स्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button