कञ्चनपुरका बाढी प्रभावितहरूलाई एक करोड बराबरको राहत सामग्री वितरण

कञ्चनपुर । गैर आवासीय नेपाली सङ्घले कञ्चनपुरका बाढी प्रभावितहरूलाई एक करोड बराबरको राहत सामग्री वितरण गरेको छ । दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी पीडितहरूलाई उक्त सामग्री वितरण गरेको हो ।
सङ्घले दोधारा चाँदनीका डेढ सय र भीमदत्त नगरपालिकाका डेढ सय परिवारलाई राहत वितरण गरेको हो । संघका मध्यपूर्व संयोजक मनोज श्रेष्ठको संयोजनमा राहत सङ्कलन गरिएको हो । राहत वितरणमा संघका दक्षिण कोरिया प्रतिनिधि रञ्जन कुँवर लगायतको उपस्थिति रहेको थियो ।
सङ्घले लुगा कपडादेखि खाद्यान्न र स्वास्थ्य सामग्रीहरु समेत वितरण गरेको हो । दाल, चामल, खुर्सानी, बेसार, खाने तेल, आलु, प्याज, मास्क र लुगाकपडा लगायतका सामग्रीहरु प्रभावितलाई वितरण गरिएको हो ।संघका प्रतिनिधिहरूले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसँग पनि भेट गरेको छ ।
विष्टले नदी तटिय क्षेत्रका बासिन्दाको दीर्घकालीन रुपमा सुरक्षित आवास निर्माण योजनामा सहयोग पुर्याउन आग्रह गरेका छन् । प्रतिनिधिहरूले प्रभावितहरूको सहयोगका लागि अन्तर्राष्ट्रिय स्तरबाट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्