थप डेढ करोड डोज खोप नेपाल ल्याउन सम्झौता भइसकेको छ : मन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रदेश नं. १ को सबैभन्दा ठुलो अस्पतालको रुपमा रहेको कोसी अस्पताललाई स्तर उन्नति गर्दै थप पाँच सय बेडमा विस्तार गर्न लागिएको बताउनु भएको छ ।
विराटनगर स्थित कोसी अस्पतालको आज बिहान अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बेड थप गरेसँगै अस्पतालमा अभाव भएको जनशक्ति तत्काल थप गरिने बताउनुभयो । अहिले ३ सय ५० बेड रहेको सो अस्पतालमा बेड थपका लागि सरकारले तत्काल स्वीकृति दिन लागेको उहाँको भनाई थियो ।
मन्त्री खतिवडाले कोसी अस्पतालको विकासमा सरकारले चासो देखाएकै कारण अस्पताल परिसरमा करोडौँको लागतमा भवनहरू निमार्ण भइरहेको बताउनुभयो ।

एक प्रश्नमा उहाँले आगामी चैतसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य सरकारले पुरा गर्ने बताउनुभयो । अहिले खोपको अभाव नभएको भन्नुहुँदै मन्त्री खतिवडाले डेढ करोडभन्दा बढी खोप अहिले पाइप लाइनमा रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले अहिलेसम्म १८ वर्ष उमेर माथकालाई खोप लगाएको भन्नुहुँदै अब १२ वर्ष देखी १८ वर्ष उमेर समुहलाई पनि सरकारले खोप लगाउने तयारी गरी रहेको बताउनुभयो । उहाँले अमेरिकाबाट एक करोड तथा चीनबाट ६० लाख खोप ल्याउन सम्झौता भइसकेकाले सो खोप चाँडै नेपाल आउन लागेको बताउनुभयो ।
मन्त्री खतिवडालाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको सेवा प्रभा तथा अस्पतालको अवस्था बारे जानकारी गराउनु भएको थियो । सो अवसरमा डा. दासले दैनिक एक हजार भन्दा बढी बिरामी आउने कोसी अस्पतालमा तत्काल जनशक्ति थप गर्न मन्त्री खतिवडालाई आग्रह गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्