नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य

सिद्धार्थनगर। भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताउनुभएको छ ।
भैरहवामा आयोजित धर्म सभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भन्नुभयो, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” उहाँले नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको सुरक्षाका लागि पनि हिन्दु राष्ट्र जरुरी रहेको उहाँको दाबी छ ।
भैरहवाको महेन्द्र सभागृहको सभा हलमा आयोजित धर्म सभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “पूरा एसिया महाद्वीप हिन्दु राष्ट्रका रूपमा स्थापित हुनेछ ।”
श्रीनिश्चलानन्दले सनातन आर्य वैदिक हिन्दुलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुर्व्यसनबाट मुक्त र आर्थिक रूपले पनि सम्पन्न शाली हुँदै जाने बताउनुभयो । उहाँले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्यम नै सनातन आर्य वैदिक हिन्दूत्वको अङ्गीकार भएको बताउनुभयो ।
नेपालका धर्मगुरुहरूको उपस्थिति रहेको उक्त धर्म सभामा शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्म सभामा शङ्कर खराल, डा चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्