तपाईँ सुन्दै हुनुहुन्छः

झर्ना खोलाको पुल जोड्ने पहुँच मार्ग भत्कियो, आवतजावतमा समस्या

कञ्चनपुर । मनसुन सकिएपछि अनपेक्षित रूपमा परेको वर्षाले ल्याएको बाढीले कञ्चनपुरको बेलडाँगीस्थित झर्ना खोलाको पुल जोड्ने पहुँच मार्ग भत्किएको छ । 

बेलडाँगी गाउँपालिका वडा नम्बर १ मा रहेको सरस्वती माविदेखि दुई कट्टा बस्ती जोड्ने पुलको पहुँच मार्ग कल्भर्ट बाढीले भत्किएको हो । 

पुलको दायाँबायाँ सडक भत्किएसँगै उक्त क्षेत्रका आम नागरिकलाई आवतजावतमा समस्या भइरहेको छ ।

स्थानीय दीपकराज जोशीले झर्ना खोलामा आएको बाढीले पुलको उत्तर र दक्षिणको सडक भत्काइदिएपछि आवतजावतमा समस्या भएको बताउनुभयो । 

नजिकैको सरस्वती माविसहित अन्य आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घुमाउरो बाटो भएर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । 

झर्ना खोलामा आएको बाढीले बेलडाँगी गाउँपालिका वडा नम्बर १ र बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित उच्चो भागमा कटानी र होचो भागमा कटान गरिदिएको छ । 

बेलडाँगी गाउँपालिकाले गत आर्थिक वर्ष २०७७।०७८ मा उक्त खोलामा कल्भर्ट निर्माणको योजना ल्याएको हो । 

चुरेसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर बग्ने झर्ना खोलाले पानीको बहाव धान्न नसक्ने अवस्थामा सानो कल्भर्ट निर्माण योजना ल्याउनु नै त्रुटिपूर्ण रहेको स्थानीयको भनाइ छ । 

खोला ठुलो छ तर पुल योजना सानो भएकोले योजना बनाउँदा देखिएको अदूरदर्शीताका कारण सडक भत्किएर नागरिकलाई दुःख खेप्नुपर्ने बाध्यता सिर्जना भएको स्थानीयको गुनासो छ । 

बेलडाँगी गाउँपालिका प्रवक्ता अमरबहादुर खत्रीले आयोजना नै त्रुटिपूर्ण रहेको स्वीकार गर्नुभयो । 

“नदीको बहाव अनुरूप पुल निर्माण गर्नु पर्थ्यो, ‘त्यो भएन”, उहाँले भन्नुभयो, “आयोजना नै गलत हुँदा पुल भत्कियो, अब पुनर्निर्माण गर्छौँ ।”

तत्कालका लागि स्थानीयलाई आवतजावत गर्न अस्थायी प्रकृतिको संरचना पुनर्निर्माण गर्ने र पछि झर्ना खोलामा स्थायी प्रकृतिको पुल निर्माण गर्ने उहाँले बताउनुभयो । 

पुल भत्किएको विषयमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका जनप्रतिनिधि मध्ये कसैले पनि अनुगमन नगरिदिएकोमा स्थानीयले गुनासो पोखेका छन् । 

झर्ना खोलामा वि.सं. २०६५ सालदेखि बाढीले कटानी तथा पठान गर्दा हालसम्म सयौँ बिघा उर्वर जमिन नासिदा समेत सरकारी निकायबाट त्यसको दीर्घकालीन समाधानमा चासो समेत दिइएको छैन । 

अन्य बाढी प्रभावित क्षेत्रमा लस्करका लस्कर नेता तथा जनप्रतिनिधिहरू जाने गरे पनि झर्ना खोलाको पीडाप्रति भने कुनै पनि सरकार, नेता तथा जनप्रतिनिधि उत्तरदायी नभएकोमा स्थानीयले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button