तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय खुले पनि छात्राहरूको उपस्थिति न्यून

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा किशोरी तथा बालिकाहरूले पढाई छाड्ने क्रम बढेको पाइएको छ । 

सरकारले व्यवस्था गरेको वैकल्पिक माध्यमको पढाइमा समेत पहुँच नपुगेका बालिकाहरू विद्यालय पुनः सञ्चालन हुँदा पनि अनुपस्थित रहेका छन् । 

कोरोना भाइरस महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा छात्राहरूले पढाई छाड्ने गरेको पाइएको छ । घरभित्र रहँदा परिवारले घरको बढी काम लगाउने, विभिन्न हिंसामा पर्ने, डिभाइसमा पहुँच नहुने तथा अनलाइनबाटै दुर्व्यवहार हुने गरेका कारण पनि बालिकाहरूले पढाई छोडेको बताउनुहुन्छ बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेल । 

काठमाडौँको दरबार हाई स्कुलको अनलाइन कक्षामा समेत २० प्रतिशत छात्राहरू नआएको विद्यालयले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक डा.अखिलेश आजाद विद्यालय नआएका छात्राहरूको खोजी भइरहेको  र तिहारपछि प्रत्यक्ष कक्षा सञ्चालन भएपछि कति छात्राहरूले विद्यालय छाडे भन्ने तथ्याङ्क आउने बताउनुहुन्छ  । 

कोरोना महामारी कम हुँदै गएपछि भौतिक रुपमा खुलेका विद्यालयहरूमा अनलाइन कक्षामा अनुपस्थित रहेका  छात्राहरू अझै आएका छैनन् । विद्यालय नआउने छात्राहरूमा गरिब तथा विपन्न वर्गका रहेको जनाइएको छ । 

यस अवधिमा छोरीहरूले घरको काम बढी गर्नुपर्ने बाध्यताले पनि उनीहरूले पढाइमा समय दिन सकेका छैनन् । शिक्षा मन्त्रालयका सहसचिव डा. तुलसी थपलियाको लामो समयसम्म नियमित सिकाइबाट बाहिर रहेका छात्राहरूको खोजी गर्न परिवार, विद्यालय र स्थानीय तहले योजना बनाएर खोजी गर्नुपर्ने भनाई छ । 

शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो । संविधानतः अनिवार्य गरिएको पढ्न पाउने अधिकारबाट कोही बालबालिका वञ्चित हुनुहुँदैन । त्यसमा पनि छोरा र छोरीको भेद गरेर शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित गराउने काम कोही कसैबाट पनि हुनुहुँदैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button