तपाईँ सुन्दै हुनुहुन्छः

हङकङमा पत्रकारिता गर्दै आउनुभएका राईको भिरबाट लडेर मृत्यु

खोटाङ । हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । 

धरान उपमहानगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आउनुभएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँ स्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । 

खोटाङबाट भोजपुर जाने क्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । 

“मृतक पत्रकार राई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक ९एसपी० प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ”, उहाँले भन्नुभयो, “दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जाने क्रममा भीरबाट लडेर करिब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।”

हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहनुभएका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । “मृतक पत्रकार राई र एसपी सा’ब साथी साथी हुनुहुँदो रहेछ”, उहाँले भन्नुभयो, “नेपाल आएको समयमा साथी साथी सँगै भ्रमण निस्कनुभएको समयमा घटना भएको बुझिएको छ ।”

पत्रकार राईको मृत्युपछि पूर्व एसपी श्रेष्ठ र चालकसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरूलाई पक्राउ गरेर राखिएको भने होइन ।

मृतक पत्रकार राईसहितको टोली प्रदेश नं। २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आउनुभएको बुझिएको छ । घटनापछि उहाँहरूले प्रयोग गर्नुभएको कारसमेत जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।  


मृतक पत्रकार राई नेपाल पत्रकार महासङ्घ हङ्कङ शाखाका वर्तमान अध्यक्ष, एनआरएनका पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासङ्घ हङकङका वर्तमान अध्यक्ष, किराँत राई यायोख्खा हङकङका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार लगायतको भूमिकामा हुनुहुन्थ्यो । पत्रकार राईलाई यसै वर्ष हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेशन फर कम्युनिटी सर्भिस’ले सम्मान गरेको थियो । 

दुई दशकदेखि हङकङमा पत्रकारिता तथा विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिरहनुभएका मृतक पत्रकार राईका दुई छोरा युके तथा आमा र श्रीमती हङकङमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।


 पुर्खौली घर ओखलढुङ्गा भएका मृतक पत्रकार राईका धरानस्थित आफन्त सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button