तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्तले पठायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीको चार लेन पुलको पहुँच मार्ग निर्माण छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारलाई माग गरेको छ । नगरपालिकाले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएर पहुँच मार्ग निर्माण छानबिनको माग गरेको हो ।

नगरपालिकाले पहुँच मार्ग भत्किएपछि चौतर्फी रुपमा गुणस्तरमाथि गुनासो गरिएकाले छानबिन गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

ज्ञापन पत्रमा बाढीले महाकाली पुल आयोजनामा ठुलो क्षति पुगेपछि त्यसको निर्माण कार्यमा भएको लापरबाही र गुणस्तरमाथि जनस्तरबाट प्रश्न उठेकाले त्यसको तत्काल छानबिनसहित कानुनी पक्रिया अघि बढाउन समेत नगरपालिकाले माग गर्दछ ।

नगरपालिकाले नदी किनारका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न पनि सरकारसँग माग गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाइएको छ ।  भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीलाई ज्ञापन बुझाएका थिए ।

मेयर विष्ट सहित उप मेयर सुशीला चन्द सिंह, नगर प्रमुख विष्टसहित उप–प्रमुख सुशीला चन्द सिंह, नगर प्रवक्ता हिमाल बहादुर चन्द, वडा अध्यक्षहरू डम्बर कार्की, शङ्कर कुँवर, लक्ष्मीदत्त बोहरा, कार्यपालिका सदस्य कमला देवकोटा, न्यायिक समिति सदस्य प्रशान्त भट्ट लगायतका सहभागी भएका छन् ।

ज्ञापन पत्रमा बेमौसमी वर्षाका कारण आएको बाढीले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी पीडितलाई तत्काल क्षतिपूर्ति गराउन माग गरिएको छ ।

महाकालीको नदीको बाढीले पीडित भएका भीनपा ९, १०, ११, १२ र १३ का एक हजार बढी घरधुरीलाई व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

बाढीले किसानले भित्र्याउनै लागेको धान लगायतको अन्नबालीमा ठूलो क्षति पुगेकाले त्यसको मूल्याङ्कन गरी उचित राहतको व्यवस्था गर्न पनि माग गरिएको छ ।

महाकाली नदीको तटीय क्षेत्रका खल्ला–मुसेट्टीसँगै चुरे क्षेत्रबाट बग्ने खहरे खोलामा पक्की तटबन्ध निर्माण गर्न समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

प्रतिस्थापन बजेटमा पूर्व स्वीकृत योजना नसमेटिएकाले त्यसका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button