तपाईँ सुन्दै हुनुहुन्छः

उच्च रक्तचाप र सुगरका बिरामी घटेभने मिर्गौला सम्बन्धी रोग न्यूनीकरण हुने

चितवन । उच्च रक्तचाप र सुगरका बिरामी घट्दै गएभने मिर्गौलासम्बन्धी रोग पनि न्यूनीकरण हुने चिकित्सक, विशेषज्ञले बताएका छन् । आज भरतपुर अस्पतालमा मिर्गौला पीडित सरोकार समाज नेपाल, चितवन शाखाले आयोजना गरेको मिर्गौला रोग सचेतना कार्यक्रममा अस्पतालका चिकित्सक, विशेषज्ञले मिर्गौला पीडितहरू अधिकांश उच्च रक्तचाप र सुगरका बिरामी भएको बताएका हुन् । 

कार्यक्रममा बोल्दै भरतपुर विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले मिर्गौला रोगनै उच्च रक्तचाप र सुगरबाट नै शुरु हुने बताउनुभयो । ‘पहिलो स्टेजमै बढी यही बिरामीमा भएको देखियो, उहाँले भन्नुभयो, रक्तचाप नियमित जाँच गराए १३ प्रतिशत मिर्गौलासम्बन्धी  रोग न्यूनीकरण हुन्छ ।’ उच्च रक्तचाप र सुगरका अधिकांश मिर्गौला सम्बन्धी रोग ‘क्रोनिक किड्नी डिजिज’को सिकार हुने  र उच्च रक्तचाप र सुगरका बिरामी सङ्ख्या कम गर्न सके मिर्गौलासम्बन्धी रोगको बिरामी पनि कम हुने डा. अधिकारीको भनाई छ ।  

विश्वमा ४५ करोड मानिसमा सुगरका बिरामी रहेको बताउँदै उहाँले त्यसमध्ये ११ प्रतिशत बिरामी ‘क्रोनिक किड्नी डिजिज’ बाट पीडित भएको उहाँले बताउनु भयो  । पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोग बढी चुनौती रहेकोले मिर्गौलासम्बन्धी रोग समेत भयावह बन्दै गएको उहाँको भनाई छ । ‘४० बर्ष अघिमात्र सर्ने ६७ प्रतिशत सरुवा रोग थियो, उहाँले भन्नुभयो, अहिले ठ्याक्कै उल्टो ६७ प्रतिशत नसर्ने रोगको चुनौती छ ।’ 

मिर्गौला रोग विशेषज्ञ डा सन्तोष गुरुङले पछिल्लो समय मिर्गौला सम्बन्धी बिरामी अप्रत्याशित रुपमा बढेको भन्दै मिर्गौला बिरामीले नियमित डायालासिस नगरे मृत्यु नै हुने बताउनु भयो  । ‘मिर्गौलाले राम्रोसँग काम गर्न छाडेपछि कि नियमित डायालासिस हुनुपर्‍यो कि किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो, उहाँले  भन्नुभयो , यसबाहेक अन्य विकल्प छैन ।’ डायालासिस गर्ने बिरामीहरू बढीमा ३० बर्ष बाँच्ने तथ्याङ्क रहेको  डा गुरुङले बताउनु भयो  । 

नेपालमा यसको उपचार प्रक्रिया महँगो, सरकारी नीति सहज नभएको र सचेतनामा कमी भएका कारण मृत्यु हुने गरेको उहाँको भनाई छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्ण पौडेलले मिर्गौला सम्बन्धी रोगका लागि डायालासिसको साथै सरकारले मिर्गौला ट्रान्सप्लान्ट नीतिलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो  । 

‘मिर्गौला ट्रान्सप्लान्ट सहज भयो भने डायालासिस गर्ने बिरामी पनि कम हुन्छ, उपचार खर्च पनि कम हुन जान्छ’ प्रा.डा. पौडेलले भन्नुभयो । भरतपुर अस्पतालमा दुई दर्जन भन्दा बढी जिल्लाबाट डायालासिसको बिरामी आउने गरेको र हाल ८ वटा मेसिनले सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो  । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले हाल अस्पतालमा मासिक १२० जनाले विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत निःशुल्क डायालासिस उपचार गराइरहेको जानकारी दिनुभयो  । यहाँ दैनिक ३२ जनाले डायालासिस गर्दै आएका छन् । जिल्लामा हाल ३६० जनाले मिर्गौला पीडितले नियमित उपचार गराइराखेका छन् भने देशभर ३२ हजारले मिर्गौला सम्बन्धी रोगको उपचार गर्ने गरेका छन् । यत्तिकै सङ्ख्यामा मिर्गौला रोगी उपचारको पहुँचमा नै छैनन् ।  
सहभागी मिर्गौला पीडित र परिवारले आफूहरूलाई डायालासिस बाहेक अन्य उपचार र औषधि महँगो भएको , रगत सहजै नपाउने गरेको भन्दै गुनासो गरेका थिए । देशभरमा मिर्गौला रोगी मध्ये सरदर ७ हजार ३सयले नियमित डायालासिस गर्ने गर्दछन् । देशभरका अस्पतालमा गरी ५६५ वटा डायालासिस मेसिन रहेको तथ्याङ्क छ । 

चितवनमा भरतपुर अस्पताल, रत्ननगर अस्पताल र दुई निजी चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा डायालिसस सेवा हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button