बेमौसमी वर्षाका कारण करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको सडक पूर्वाधारमा क्षति

काठमाडौँ । पछिल्लो पटक भएको बेमौसमी वर्षाका कारण करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको सडक पूर्वाधारमा क्षति पुगेको छ ।
सङ्घीय संसद्को विकास तथा प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले हालैको बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो र नदी कटानका कारण राष्ट्रिय राजमार्गमा कार्तिक १ गते पछि मात्र करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।
गत जेठ २५ गते यता मनसुन जन्य प्रकोपबाट करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको सडक पूर्वाधारमा क्षति हुन पुगेको पनि महानिर्देशक थापाले जानकारी दिनुभयो ।

यसैबीच आज बसेको समितिको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरो प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
यस्तै समितिको बैठकले वर्षाका कारण पूर्ण अवरुद्ध मनाङ, बझाङ र बाजुरा लगायतका जिल्लामा पुग्ने सडकहरूमा तत्काल यातायात सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्