मूर्ति नबिक्दा गुजारा चलाउन समस्या

तनहुँ । ५९ वर्षीय यामबहादुर विक आफूले कहिलेदेखि मूर्ति बनाउन थाले स्वयमलाई थाहा छैन । बाल्यकालदेखि विभिन्न देवी देवताको मूर्ति बनाउन थालेका विकले यो उमेरसम्म आई पुग्दा कति सङ्ख्यामा मूर्ति बनाए त्यो पनि तथ्याङ्क छैन ।
मूर्ति बनाउन कहलिएका विक जीवनमा धेरै पटक सम्मानित समेत हुनुभएको छ । । अक्सर माग अनुसार मूर्ति बनाउँदा भ्याइनभ्याई हुन थालेपछि यस बर्ष उनले माग नहुँदै मूर्ति र गमला तयार पारेर राख्नुभयो । तर विक्री भएन ।
यसपालि उनले बनाएको मूर्ति र गमला विक्री नहुँदा आर्थिक मारमा परेको कालिगढ विकले बताउनुभयो । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ भोटेपानिमा दैनिक मूर्ति लगायतका सामाग्री बनाउनमै व्यस्त हुने उहाँले तयारी सामान विक्री नहुँदा आर्थिक अभावले सताउन थालेको बताउनुभयो । ‘यी सामान विक्री हुने बित्तिकै त मैले ऋण तिर्थे नि । ऋण गरेर सिमेन्ट र बालुवा ल्याएको हो’, उहाँले भन्नुभयो, ‘नबिक्दा समस्या भएको छ । एउटाको पाखुरा ऋण नकाढी उपाय छैन, ऋण गरेर काम ग¥यो सप्लाई छैन ।’ पछिल्लो समयमा सिप हुनेहरूलाई समेत पेशाबाट विमुख हुनुपर्ने दिन आउन थालेको मिल्ने बताउनुभयो ।
‘यो मूर्ति बनाएर केही कतैबाट सपोर्ट छैन । कसैबाट केही छैन । बर्ष दिनमा एउटा सामान बेचेर के खाने ? सिप भएर मात्र केही हुँदो रहेनछ’, उहाँले भन्नुभयो, ‘हामीलाई न्यून ब्याजदरमा ऋण दिएर सामान बेच्दै तिर्ने वातावरण भइदिए यही पेशामै रहेर पनि केही गर्न सकिन्थ्यो कि जस्तो लाग्दछ ।’
उहाँले स्थानीय स्तरमा नै गुणस्तरीय सामानको खपत गर्ने परिपाटी नभएको गुनासो गर्नुभयो । बाहिरबाट आएका नक्कली सामानमा आकर्षण बढेको भन्दै स्थानीय स्तरमा बनेका सामानको माग नहुनु दुखद भएको बताउनुभयो ।
उहाँले आफ्नो सामानमा ग्यारेन्टी दिने गरेको बताउँदै अहिले करिब तीन लाख बराबरको मूर्ति र गमला तयार रहेको जानकारी दिनुभयो । सबैजसो भगवानको आकर्षक मूर्ति बनाउन पोख्त उनले नाग र गमलाहरू समेत तयार बनाएर राख्नुभएको छ ।
उहाँले भोटेपानीमा रहेको विश्वकर्मा मन्दिरको विश्वकर्माको मूर्ति, प्रकृतिदेवी मन्दिरमा रहेको देवीको मूर्ति लगायत देशका विभिन्न स्थानमा रहेका मन्दिरमा मूर्ति बनाउनुभएको छ । भगवान् बनाउन उनै यामबहादुरको भगवान् नबिक्दा आर्थिक समस्यामा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्