तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुँदै 

चितवन । कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको छ । यही कार्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एसियन बफेलो कङ्ग्रेस’ हुने भएको हो ।

यो एसियन बफेलो कङ्ग्रेस १० औँ संस्करण हो । अब हुने  सम्मेलन नेपालमा भने पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको भैँसीको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवं उपयोगिता बारे वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलन आयोजना गरिएको हो ।

आज भरतपुरमा विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।

सम्मेलनमा १७ राष्ट्रका प्रख्यात विज्ञहरूले एक सय ३५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । तीन सय ५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरुबीच छलफल तथा बहस हुने आयोजक समितिका अध्यक्ष प्रा. डा. भूमिनन्द देवकोटाले जानकारी दिनुभयो  ।

सो सम्मेलनमा नेपालमा अनुसन्धानमा आधारित भैँसी अनुसन्धान केन्द्र स्थापनाका पनि कृषि विश्वविद्यालयले प्रस्ताव पेश गरिने प्राडा देवकोटाले बताउनु भयो  । विभिन्न राष्ट्रहरुबीच भैँसी पालनको ज्ञान र उपलब्धिको आदानप्रदान गर्न समेत सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको  उहाँको भनाई छ  । 

सम्मेलन भैँसी उत्पादन र विकासका लागि कोसेढुङ्गा हुने आयोजकले अपेक्षा गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा नै यस किसिमको सम्मेलन हुनु गर्व र गौरवको विषय भएको बताउनु भयो  । चितवन पशुपालन, मत्स्यपालन तथा पशुपक्षीको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला भएकोले यो कार्यक्रम झनै फलदायी हुने उहाँको भनाई थियो ।

सम्मेलनको ८ गते कृषि तथा पशुपक्षी मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । यस अघि जुन ३ देखि ५ तारिखमा भौतिक रुपमा नै आयोजना गर्न लागिएको सम्मेलन कोभिडका कारण पछि धकेलिएको हो ।

एसियामा विश्वकै सबै भन्दा धेरै भैँसी उत्पादन हुने गर्दछ  । भैँसीको कुल सङ्ख्याको ९० प्रतिशत एसियामा नै छ । नेपालमा ५२ लाखको हाराहारीमा भैँसी रहेको अनुमान छन् । नेपालमा दुग्ध उत्पादनमा भैँसीले ६५ तथा मासुमा ५४ प्रतिशत स्थान ओगटेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button