उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

खलङ्गा।दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ । लगातारको वर्षाले स्थल मार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।
नेपालगन्जकी सृजन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुग्नुभएको थियो । बाटोमा मोटरसाइकल बिग्रिए । उहाँका साथीहरू जहाजमार्फत नेपालगन्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतीक्षामा छन् । “जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौँ, पैसा पनि सकियो”, उहाँले भन्नुभयो, “एक सातादेखि विमान नपाएर धेरै जना यहीँ हुनुहुन्छ, उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहा¥यौँ, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।”
जल तथा मौसम विज्ञान विभागले शनिवार देखी फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ । मौसममा खराबी आउने बित्तिकै ताल्चामा विमान अवतरण हुँदैन । एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतीक्षामा छौँ । आजसम्म उद्धार नभए अझै कति दिन भोक भोकै बस्नुपर्ने हो थाहा छैन । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधवार सम्म यस विमानस्थलमा एउटै पनि उडान भएन । बिहीबार जम्मा दुई वटा मात्रै उडान भए । राजधानी काठमाडौँ र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उहाँले बताउनुभयो ।
विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ । सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाई मार्गमार्फत राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताउनुभयो ।
मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढी पहिरोका कारण विभिन्न ठाउँको स्थल मार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका हुन् । सीताको जहाजमा खराबी आएर नेपालगन्जमा थन्क्याइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमै छ । ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुको उद्धारका लागि सरोकार निकाय र विमान सञ्चालक कम्पनीलाई पत्राचार गरिएको बताउनुभयो । उहाँले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरूलाई नियमित र थप उडान गर्नका लागि जानकारी गराउनाका साथै पत्राचार पनि गरिएको बताउनुभयो । दसैँ बिदा मनाउनका लागि राराताल आएका पर्यटकको चाप अत्यधिक हुँदा यात्रुले धेरै दिनको पालो पर्खेर मात्र यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाल यस क्षेत्रमा उडान भर्ने एयरलाइन्सका जहाजले देशको पूर्वतर्फ उडान भर्न गएकाले कर्णालीमा रहेका यात्रुलाई समस्या पर्न गएको हो ।
अरू बेला कर्णालीमा उडान भर्ने विमान सेवा कम्पनीले चाडपर्व र पर्यटक आउने बेला अन्यत्र विमान पठाउनु गलत हो ।” बाढी–पहिराका कारण कर्णाली राजमार्गको सुर्खेत–नाग्म सडक र नाग्म–गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेपछि सवारी साधनलाई सास्ती भएको यहाँका स्थानीयवासी बताउँछन् ।रासस








प्रतिक्रिया राख्नुहोस्