तपाईँ सुन्दै हुनुहुन्छः

खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु

कञ्चनपुर। कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन्। खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ।

पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन्।लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दलाल राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन्।

दुई बिघा खेतमा लगाएको धान वर्षाभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याउँथे । बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो ।

उनको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीमा बगेको छ। खेतमा बचेको धान कुहिएपछि कामै नलाग्ने भएको छ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नु अगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसरको खोजी गर्दै थिए।

कोरोनाको महामारी रहेकै बेला मजदुरी पनि पाउन मुस्किल भएको उनको भनाइ रहेको छ। धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदा सहकारी र समूहबाट कर्जा निकाल्नुपर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पुर्‍याएपछि किसान बिचल्लीमा परेको नेपाल किसान सङ्घका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताए।

उहाँले किसानको मर्कालाई बुझेर सरकारले मालपोत, सिँचाइको विद्युत् महसुल मिनाहासँगै अनुदानमा बीउ विजन उपलब्ध गराउने व्यवस्था गर्नुपर्न वताउनु भयो।

वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जङ्गली हात्तीले बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको क्षतिपूर्ति दिइनुपर्ने उनले बताए।

स्थानीय तहले वर्षाको डुबान र बाढीबाट प्रभावित भएका किसानको तथ्याङ्क सङ्कलनको कार्य अगाडि बढाएका छन्। धान, तरकारी बाली र उखु बालीको क्षतिको विवरण सङ्कलन वडामार्फत स्थानीय तहले काम अगाडि बढाएका हुन्।

शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति व्यहोरेका किसानको विवरण सङ्कलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बत्ताउँछन्।

वडाले सङ्कलन गरेको विवरण नगर विपद् समितिमार्फत कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिने उहाँले बताउनु भएको छ।

बेलौरी, पुनः वास, कृष्णपुर, भिमदत्त, दाेधाराचादनि नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकाले वर्षाले धान बालीमा क्षति गरेको विवरण सङ्कलनको कार्य अगाडि बढाएको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्ल स्थानीय तहका कृषि शाखामार्फत धानलगायत बालीको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको बत्ताउँछन्। उहाँले जिल्लाका २५ प्रतिशत किसानले मात्रै धानबाली भित्र्याउन पाएका छन्। ७५ प्रतिशत किसानको धान बालिमा वर्षाले क्षति गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button