१ हजार २ सय २५ टन भिजेको डिएपी मल जफत
बीरगंज । साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरी वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा १४ महिना अगाडी आइपुगेको भिजेको मल भन्सार कार्यालयले जफत गरेको छ ।
बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलले भिजेर आएको १ हजार २ सय २५ टन डिएपी मल लामो समयदेखि गोदाममा थन्काएको कारण जफत गरिएको बताउनुभयो ।

यसअघि सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले सम्बन्धित आयातकर्तालाई मल नष्ट गर्नका लागि उपस्थित हुन पटक–पटक पत्राचार समेत गरिसकेको र आयातकर्ता अनुपस्थित भएपछि भन्सार ऐन अन्तरगत जफत गरी नष्ट गरिने शर्माले बताउनुभयो ।
ड्राईपोर्ट भन्सार कार्यालयले भिजेर उपयोग विहीन अवस्थामै आएका करिब १ हजार २ सय २५ टन डिएपी मल जफत गरेर नष्ट गर्ने निर्णय यसअघि नै भइसकेको हुँदा अब नष्ट गर्न समस्या नहुने शर्माले बताउनुभयो ।
स्विस सिंगापुर ओभरसिज सप्लाएर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डिएपी मल भारतको कोलकाता बन्दरगाहबाट ल्याइएको थियो ।
समुद्री मार्गमै रहँदा २०२० को अगस्टको दोस्रो साता बङ्गालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्री आँधीको कारण मल बोकेको पानी जहाजभित्र पानी पसेकोले मल भिजेको थियो ।
भिजेको मल सप्लाएरले वीरगन्जसम्म ल्याएपछि त्यति बेला पनि सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँच पास गर्न रोकेको थियो ।








प्रतिक्रिया राख्नुहोस्