तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्र बैतडी पुगेर फर्किनुभयो प्रधानमन्त्री देउवा

बैतडी । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्र बैतडीको सिगास गाउँपालिका ५ ढुंगाड पुगेर फर्किनुभएको छ । गत आइतबार देखीको अविरल वर्षाले सेती नदिमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमण पछि देउवा डडेलधुरा प्रस्थान गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अनुगमन गर्नु भएको छ । आकाशमा तीन चक्कर लगाएर प्रभावित क्षेत्र गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिहरू सँग भेट गरी डडेलधुरा प्रस्थान गर्नुभयो । 

प्रधानमन्त्री देउवाले करिब २० मिनेट जति स्थानीयवासीहरु सँग भेटेको स्थानीय घनश्याम धामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीज्युले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका विषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फर्किनुभयो ।’ 

प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याहरू बारे ज्ञापन पत्र बुझाएका पेश गरेका छन् । वर्षाका कारण सेती नदिमा बाढी आएपछि सिगास ५ ढुंगाडका करिब २ सय रोपनी धान खेत बगरमा परिणत भएको छ भने, ५ घर भत्किएका छन् । बाढीले गाउँ नै घेरेपछि २ दिनसम्म स्थानीयवासीहरु टापुमा अड्किएका थिए । अहिले उनीहरूको घरमा गाँसबासको समस्या भएको छ । 

७ दिन देखि हराइरहेका बिष्टको शव फेला

बैतडीको सुर्नया ५ कक्स्यालिमा ७ दिन देखि हराइरहेका ध्वज बहादुर बिष्टको शव फेला परेको छ । घोडधौनि दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका ४७ वर्षीय बिष्ट ७ दिन देखि सम्पर्क विहीन भएका थिए । 

खोजी गर्ने क्रममा आज बिहान १० बजे शव कुहिएको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकीका इन्चार्ज भुवन चन्दले बताउनुभयो ।  

मृतक बिष्टका दुई श्रीमती र तीन ओटा छोराहरू रहेका छन् । घटना के कारणले भएको भन्ने यकिन नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेलधुरा पठाएको प्रहरी सहायक निरीक्षक चन्दले बताउनुभयो ।

वर्षाले बैतडीको दशरथचन्द नगरपालिका २ मा व्यापक क्षति

लगातारको अविरल वर्षाले बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ का विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । वडा न. २ मा ३ घर भत्किनुका साथै विभिन्न ठाउँको बाटोघाटो भत्किएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य सूर्य बोहराले बताउनुभयो । उहाँले सरगडमा रहेको चन्द्रसिंह बोहराको २ तले घर, सौडालीमा रहेको गोपालसिंह रावलको घर र जोलाघट्टमा रहेको उग्र बहादुर बोहराको घर भत्किएको बताउनुभयो । 

घरहरू भत्किदा मानवीय क्षति नभएपनी घरभित्र रहेका सबै मालसामान, लुगा कपडा, उपभोग्य बस्तुहरू नष्ट भएको उहाँले बताउनुभयो । सरगरमा एकघर भत्किएपनि १८ घरहरू पहिरोको उच्च जोखिममा रहेको बोहराले बताउनुभयो । पहिरोका कारण विद्यालय जाने बाटो ग्रामीण कच्ची सडकहरू र केही सरकारी संरचनामा समेत क्षति पुगेको छ । 

कांग्रेस नेता बस्नेतले बैतडीका बाढीपहिरो पीडितलाई १ लाख राहत दिनेनेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बैतडीका बाढीपहिरो पीडितलाई राहत प्रदान गर्नुहुने भएको छ । पूर्व मन्त्री समेत रहेका पार्टीको बिपद व्यवस्थापन विभाग संयोजक नेता बस्नेतले आज बैतडीका नेताहरू सँग भेट गरी राहत रकम उपलब्ध गराउने बताउनु भएको हो । 

उहाँले पहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु २५ हजार रकम उपलब्ध गराउने कांग्रेस बैतडीका जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले बताउनुभयो । नेता बस्नेतले बैतडीको शिवनाथ–६ बसेडीमा घर भत्किदा एकै घरका ३ जनाको निधन भएका भानु पार्किको परिवारलाई ७५ हजार रकम र सुर्नया गाउँपालिका ५ रौलेश्वरका परुदेवी महराको परिवारलाई २५ हजार रकम उपलब्ध गराउनु हुनेछ । 

उक्त रकम शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउद र सुर्नया गाउँपालिका अध्यक्ष वीर बहादुर बिष्टलाई हस्तान्तरण गरिने छ । दुवै गाउँपालिकाका अध्यक्ष अहिले काठमाडौँमै रहेका छन् । नेता बस्नेत सम्भव भएमा बैतडीका बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्ने बताइएको छ । 

पहिरो प्रभावित ५ परिवारलाई रेडक्रसद्वारा राहत वितरण

बैतडीको सुर्नया गाउँपालिका वडा न १ हटैराजका पहिरो प्रभावित ५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । रेडक्रस बैतडीद्वारा पहिरो प्रभावित परिवारहरूलाई त्रिपाल र मर्यादा सामग्री वितरण गरिएको स्थानीय शिक्षक दीपेन्द्र चन्दले बताउनुभयो । 

राहत सामाग्री वितरण कार्यक्रममा कार्यवाहक वडाध्यक्ष दलबहादुर चन्द, कार्यपालिका सदस्य पुष्पा पाल, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दशरथचन्द लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । राहत वितरण  कार्यक्रममा प्रहरी चौकी सतबाँजका प्रतिनिधि र शिक्षक तथा स्थानीयवासीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button