उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई सरकारले अगाडि बढाउने : प्रधानमन्त्री

बझाङ । असोज ३१ गते राती देखी परेको अविरल वर्षाले बझाङ जिल्लाका विभिन्न ठाउँमा मानवीय तथा धनजनको क्षति भएको छ । क्षति भएपछि आज बिहीबार प्रधानमन्त्री लगायतको टोलीले स्थलगत अवलोकनका लागि बझाङ पुगेको छ ।
उक्त टोलीलाई जिल्लाको बस्तु स्थिति मानवीय क्षति लगायतका बारेमा विपद् व्यवस्थापन समिति जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी गराउनु भएको थियो ।
त्यसै गरी नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङको तर्फबाट नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले बझाङ जिल्लामा ९ जनाको मृत्यु भएको र २१ जना बेपत्ता रहेकाले उनीहरूको खोजिकार्य र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकाहरूलाई घर निर्माण तथा पुर्नबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत, खानेपानी छिटोछरितो मर्मत तथा सञ्चालन गर्नुपर्ने लगायतको ६ बुँदे माग पत्र बुझाइएको छ ।
उक्त माग पत्रको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा भएको दुखद घटना प्रति दुख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई सरकारले अगाडि बढाउने बताउनुभएको थियो ।

प्रभावित क्षेत्र थलारामा हेलिकप्टर अवतरण हुन सकेन
थलारा गाउँपालिका–४ डिख्लामा प्रधानमन्त्री देउवाले बाढी पहिरोको क्षतिको विवरण बुझ्न जाने कार्यक्रम रहेको भएपनी त्यस क्षेत्रमा नपुगेपछि उक्त क्षेत्रमा पहिरोमा परि ज्यान गुमाउनेका आफन्त कलक सार्की लगायत पीडित पक्षहरूले आफ्ना दुखपिडाहरु सुनाउन नपाएको गुनासो गर्नुभएको छ ।
बिहानदेखि त्यस क्षेत्रका मानिसहरू प्रधानमन्त्री देउवा आउने भनेपछि उद्धारको काम छोडेर हेलिप्याड बनाउन जुटका थिए । स्थानीय शिक्षक मोहन साउदले भने, ‘पहिरो पीडितहरू प्रधानमन्त्रीलाई आफ्ना समस्याहरू सुनाउनका लागी ठिक्क परेका भए पनि प्रधानमन्त्री नआएपछि आक्रोशित भएका छन् ।’

पीडित बाढी पहिरो क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको थलारामा पुग्दा हेलिकप्टर अवतरण हुन नसक्दा हेलिकप्टरबाटै अवलोकन गरेर फर्कनु भएको छ । बझाङ जिल्लाको सबै भन्दा बढी मानवीय क्षति भएको तथा अति प्रभावित क्षेत्र थलारामा हेलिकप्टर अवतरण हुन नसकेपछि सदरमुकाम स्थित सेनाको ब्यारेकमै अवतरण भएको थियो ।
प्रधानमन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्ला स्तरका प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग जिल्लाको रिपोट लिनु भएको छ । उक्त टोलीमा अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री प्रेम आले लगायतको टोली बझाङ पुगेको थियो । टोलीले हेलिकोप्टर मार्फत सदरमुकाम चैनपुर आसपासका क्षेत्र र थलारामा अवलोकन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्