बाढी पहिरोले पुर्याएको क्षतिबारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाँदै

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुराएको क्षतिको निरीक्षण गर्न आज आफ्नो गृह जिल्ला डडेलधुरा जानुहुने भएको छ ।
लगातार दुई दिन देखिको वर्षाका कारण सुदूरपश्चिमको पहाडी सात जिल्ला जोडने सडक खण्ड भीमदत्त राजमार्गको साहुखर्क देखि बुडर बजार सम्म झण्डै १८ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको सडक खोल्न दुई दिन देखि एक्स्काभेटर, जेसिबी लगायतले काम गरिरहेका भए पनि अझै सडक सुचारु हुन एक दुई दिन लाग्ने डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ ।
बाढी पहिरोका कारण डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ को भाँतकाडा र सोही पालिकाको सकायल भन्ने स्थानमा दुई जनाको पहिरोबाट पुरिएर मृत्यु भएको छ । जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन भने सात पहाडी जिल्लाको राजमार्ग समेत चार दिन पुर्णतया अवरुद्ध भएको छ ।
बाढी पहिरोका कारण विभिन्न गाँउबस्तीहरुमा ठुलो क्षति भएको छ भने सडक, खानेपानी, बिजुली समेत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ । आज प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा लगायतको टोली जिल्लाको भित्री मधेश जोगबुढा क्षेत्र र डडेलधुरा सदरमुकामको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री देउवा डडेलधुराको रणबम गण दह ब्यारेक डडेलधुरामा हेलिकप्टरबाट आउनु हुने कार्यक्रम तय भएको छ ।
सात वटै स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बाढी पहिरोको अवस्थाका विषयमा जानकारी लिँदै थप निर्देशन दिने बताइएको छ । प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था भने कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्