तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा पानीको बहाव घट्दै

कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव क्रमिक रूपमा घट्दै गएको छ । 

आइतबारदेखि परेको अविरल वर्षाका कारण पानीको बहाव खतरा भन्दा माथि पुगेको थियो । महाकाली नदीमा पानीको बहाव ४ लाख क्युसेकसम्म सामान्य मानिन्छ भने साढे ४ लाख क्युसेक भन्दा माथि पुगेमा खतरा भन्दा माथि पुगेको बुझिन्छ । मङ्गलवार साँझसम्म नदीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक पुगेको थियो । यद्यपि त्यसयता निरन्तर घट्ने क्रम जारी रहेको छ । 

बस्तीमा बाढी पस्दा कञ्चनपुरको दोधारा चाँदनीका कुतीया कबर, शान्ति टोल, बैदीफाटा र निशानी टोल लगायत कञ्चनपुर जिल्लाका थुप्रै बस्तीहरू डुबानमा परेका छन् । डुबान क्षेत्रका नागरिकहरू विद्यालय तथा उच्च भूभागका सार्वजनिक स्थलमा आश्रय लिई बसेको प्रहरीले जनाएको छ । 

प्रभावित क्षेत्रमा सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक सङ्घसंस्था सहित युवाहरूको समूहले उद्धार, व्यवस्थापन र राहतको कार्य गरिरहेको बताइएको छ । 

बुधवार बिहानबाट भने कञ्चनपुरको मौसममा सुधार भई दिनभर घाम लागेको छ । मौसममा सुधार आएसँगै जनजीवन सामान्य अवस्था तर्फ फर्किन थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button