प्रहरी नायब उपरीक्षक हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मङ्गलवार सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले भट्टराईका साथबाट नक्कली डीएसपीको परिचय–पत्रसमेत बरामद गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले जागिर लगाई दिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डिएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।
झापा निवासी भट्टराईको ससुराली दैलेख रहेकाले सुर्खेत, बाँके, बर्दिया र काठमाडौँका सर्वसाधारण बढी ठगिएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै भट्टराईले लामो समयदेखि ठगी धन्दा गर्दै आएका थिए ।
लामो प्रयासपछि भट्टराईलाई महाशाखाको अनुरोधमा सुर्खेत प्रहरी पक्राउ गर्न सफल भएको हो ।
कालो रङ्गको गाडीमा हिँड्ने भट्टराईको हाउभाउ हेर्दा जो कोहीले पनि प्रहरीकै डिएसपी होला भनेर सहजै अनुमान गर्ने गरेको ठगिएका पीडितहरूले बताएका छन् । तर, पक्राउ परेपछि उनको सबै कर्तुत बाहिरिएको छ ।
पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले हवाईजहाजबाट आजै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ पुर्याएको छ ।
पक्राउ परेका भट्टराईले केही दिनअघि कोहलपुर बसपार्कको एक मासु पसलबाट आफूहरू पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम माग गरेका थिए ।
भट्टराईको समूहले बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा प्रहरी र पत्रकार हुँ भन्दै ठगी धन्दा चलाउँदै आएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्