औंधोगिक क्षेत्रको जग्गा कब्जा गर्न नेतृत्व लिएको आरोपमा एक पक्राउ
रुपन्देही । प्रहरीले रुपन्देहीको मोतीपुर औंधोगिक क्षेत्रको जग्गा कब्जा गर्ने र प्रहरीमाथि आक्रमण गर्ने गिरोहको मुख्य व्यक्ति पक्राउ गरिएको जनाएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका ४४ वर्षका साबिर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।बुटवल ११ देवीनगरमा डेरा गरी बस्दै आएका साबिरले यस्ता गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।
साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरूलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ । उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।
प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने क्रममा भएको झडपमा गएको असोज २४ गते ४ जनाको ज्यान गएको थियो भने प्रहरीसहित केही घाइते भएका थिए । घटनामा संलग्न अरूको पनि खोजी भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो । उनी पक्राउ परेसँगै सो क्षेत्रमा करिब तीन सय बिगाहा जग्गा अतिक्रमण गरेकाहरू तितरबितर भएको र नेतृत्वमा रहेका अन्यलाई खोजी गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्