दर्जन बढी पसल र घरमा चोरी
सल्यान । सल्यानका दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका –१ दमाचौर बजारका आठ पसल, घर र विद्यालयमा शुक्रवार राती अज्ञात समूहले एकै साथ चोरी गरेको हो ।
दसैँको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीका टाला तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले सामूहिक रुपमा चोरी गरेको प्रहरीले जनाएको छ ।

पसल तथा घरमा लगाएको ताला फोडी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद, सुनका गहना, रिचार्ज कार्ड लगायत अन्य सामग्री चोरेका छन् ।
अज्ञात समूहले दमाचौर बजारका चूडामणि बस्नेतको मेडिकलको ताला फोडेर नगद रु ५० हजार, केशव केसीको पसलबाट ४ हजारको रिचार्ज कार्ड, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका वडा अध्यक्ष नेबबहादुर शाहको घरबाट १ लाख २० हजार बराबरको ढाई तोला सुन, चित्र जङ्ग शाहको मेडिकलबाट ७९ हजार नगद १ लाख २० हजार बराबरको ढाई तोला सुन चोरी भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
उहाँका अनुसार यमलाल जैसीको पसलबाट ५ हजार नगद, भारती कुमारी विकको घरबाट १२ हजार नगद, दिनेश बुढाथोकीको मोबाइल पसलबाट ४० हजार बराबरको तीन थान मोबाइल चोरी भएको छन् । सामूहिक रुपमा आठ पसल, मेडिकल र व्यक्तिको घरमा चोरी गरेको समूहले स्थानीय भानुभक्त माविको ताला समेत फोरेको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा जुवा खेल्नेहरूले पसल तथा व्यक्तिका घरमा चोरी गरेको हुनसक्ने भन्दै घटनाबारे प्रहरीले अनुसन्धान बढाएको जनाएको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार अहिले घटनास्थलमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । शङ्कास्पद व्यक्तिलाई सोधपुछ भइरहेको पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्