तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्य भन्दा दुई महिनाअघि नै भवन निर्माण

म्याग्दी । ढिलासुस्तीले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघि नै भवन निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । 

अन्नपूर्ण गाउँपालिकासँग विसं २०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तर गङ्गा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघि नै काम सकेको हो । आगामी मङ्सिर महिनासम्म म्याद भए पनि निर्माण व्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले बताउनुभयो । 

रु. एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि रु. एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताउनुभयो । 

गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताउनुभयो । 

शिक्षा, विज्ञान, प्रविधि मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button