तपाईँ सुन्दै हुनुहुन्छः

सहरबाट हराउँदै छ लिङ्गे पिङ


काठमाडौँ । दसैँ पर्वका बेला पिङ खेल्ने चलन सहरबाट बिस्तारै लोप हुन थालेको छ ।

व्यस्त जीवनशैली, खुला ठाउँको अभाव र भवनहरूले साँघुरिएको काठमाडौँ उपत्यकामा अचेलको दसैँमा केटाकेहीहरु पिङमा मच्चिएर रमाउन छाडेका छन् ।

घटस्थापनासँगै सुरु हुने लिङ्गे पिङको रौनक गाउँघरमा बाँकी रहे पनि काठमाडौँ उपत्यका जस्ता सहरबाट भने हराउन थालेको छ ।

कतैकतै पिङ भेटिए पनि पहिलाझैँ सबै जना एक ठाउँमा जम्मा भएर सामूहिकता दर्शाउँदै रमाइलो गर्ने संस्कृति पाइन छोडेको छ । वर्षमा एक पटक धर्ती नटेक्नु भन्ने पुरानो मान्यताका आधारमा एक पटक भए पनि पिङ खेल्नुपर्ने चलन छ । दसैँमा खेलिने पिङको वैज्ञानिक महत्त्व रहेको संस्कृतिविद् प्रा।डा।जगमान गुरुङको भनाइ छ । उहाँ मासु भात खाएर त्यसै बस्दा शारीरिक व्यायाम नहुने हुँदा पिङ मच्चाउँदा कसरत हुने बताउनुहुन्छ ,

पहिला पहिला मनोरञ्जनका कुनै साधन नभएका बेला मानिसहरू दशैका बेला पिङ खेलेर मनोरञ्जन लिने गर्थे । इतिहासविद् प्राध्यापक डा। दिनेशराज पन्त पिङ खेल्ने चलन कसले कहाँबाट सुरु गर्‍यो भन्ने इतिहासहरूमा उल्लेख नभए पनि दसैँ मनाउन थालेदेखि नै पिङको पनि चलन चलेको बताउनुहुन्छ ।

त्यसो त दसैँको पिङमा सामूहिक सद्भावका साथै सबै जातजाति अटाउँछन् । बालबालिका, युवायुवती र वृद्धवृद्धाहरुले पनि पिङमा रमाउने गरेको पाइन्छ । दसैँमा हालेको पिङ तिहारसम्मै खेलिन्थ्यो । जनघनत्व बढ्दै गएको काठमाडौँमा केही समयअघिका दशैहरुमा लिङ्गे– पिङ देखिन्थे भने अहिले सहरमा पिङ देख्न मुस्किल पर्छ । बाबियोलाई बाटेर बनाइने लिङ्गे– पिङ खाली जमिनमा बासका चार वाट लिङ्गा गाडेर दुई दुई वटाको टुप्पोलाई एक ठाउँमा बाँधेर तयार पारिन्छ ।

प्राचीन कालदेखि नै दशँैमा पिङ खेल्ने चलन जोगाउन सामूहिक जागरण आवश्यक भएको इतिहासविद् पन्तको मनाइ छ ।

गाउँघरमा समेत आजभोलिका सुस्ताउँदै गएको लिङ्गे पिङ सहरबाट भने बिस्तारै लोप हुन थालेको छ । नयाँ आविष्कारले मानिसका आवश्यकताहरू पनि फरक भइदिए । मनोरञ्जनका नयाँ तरिकाहरू भेटिन थालेपछि सहरिया जीवनबाट हराउँदै गएको पिङ खेल्ने सामाजिक परम्परा जोगाउनु जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button