पैदल निशान यात्रा २०७८ को तयारी पुरा

विराटनगर । दसैँको अवसरमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि मोरङमा पैदल निशान ध्वजा यात्रा–२०७८ हुने भएको छ ।
दसैँको महानवमी अर्थात् भोलि बिहान ८ बजे विराटनगरस्थित कालीमन्दीरबाट पाँचौँ निशान यात्रा सुरु हुदैछ ।
ध्वजा पताका बोकेर भजन कीर्तनसहित पैदल निस्कने सो यात्रामा सहभागी भक्तजनहरू २२ किलोमिटर हिँडेर रंगेलीस्थित प्राचीन काली मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ ।
करिब चार सय भक्तजन सहभागी हुने सो यात्रा पाँच घण्टामा रंगेलीस्थित काली मन्दिर पुग्ने निशान यात्रा आयोजक समितिका अध्यक्ष मनोज अग्रवालले बताउनुभयो ।
सबै जातजाति समुदाय सहभागी सो यात्राले २२ किलोमिटरको दुरी तय गर्ने क्रममा ८ ठाउँमा पाँचदेखि १० मिनेट विश्राम लिने उहाँले बताउनुभयो ।
शरीरलाई कष्ट दिँदै विराटनगरबाट पैदल हिँडेर रंगेलीस्थित काली मातालाई शुद्ध मनले ध्वजा चढाउँदा मनोकामना पुरा हुने भएकाले निशान यात्राप्रति भक्तजनको विश्वास बढ्दै गएको पाइन्छ ।
बलि नचढाई शुद्ध मनले देवी माताको पूजा गर्दा पनि पुण्य कमाउन सकिने भक्तजनको विश्वास रहेको छ । रङ्गेली मन्दिर पुगेका भक्तजनलाई पुन विराटनगर ल्याउन तथा बिचबिचमा क्याम्प सञ्चालन गर्न तथा भक्तजनहरूको सेवाका लागि विभिन्न उपसमिति समेत गठन भएका छन् ।
विराटनगर रंगेलीको बिचमा पर्ने पालिकाका मेयर तथा गाउँपालिका अध्यक्षहरूले पालिकाको सिमाना कट्न लाग्दा एक पालिकाको मेयरले अर्को पालिकाका मेयरलाई निशान यात्राको ध्वजा हस्तान्तरण गर्ने समितिका अध्यक्ष अग्रवालको भनाई छ ।
जस्तो विराटनगरको सिंगिया खोला कटेपछि विराटनगर महानगरपालिकाको मेयरले कटहरी गाउँपालिकाका अध्यक्षलाई ध्वजा हस्तान्तरण गर्नुहुनेछ ।
यात्रामा सहभागी भक्तजनहरूले खुट्टामा छालाको चप्पल जुत्ता तथा बेल्टलगायत कुनै पनि छालाका सामाग्री प्रयोग गर्न निषेध गरिएको छ । छाला बाहेकको जुत्ता भने प्रयोग गर्न पाइने समितिले जनाएको छ ।
विराटनगरस्थित काली मन्दिरबाट प्रदेश सरकारका राज्यमन्त्री लिलाबल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यात्राको शुभारम्भ गर्नु हुनेछ ।
कोभिडका कारण सहभागी भक्तजनहरूलाई अनिवार्य मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरिएको समितिका अध्यक्ष अग्रवालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्