तपाईँ सुन्दै हुनुहुन्छः

देखिनै छोड्यो रोटे पिङ र लिङ्गे पिङ

पोखरा । दसैँमा एक पटक भए पनि जमिन छोड्नु पर्छ भन्ने मान्यता अनुसार खेलिने पिङ पछिल्लो समय लोप हुँदै गएको छ । 

दसैँ, तिहारको अवसरमा ग्रामीण क्षेत्रको मुख्य आकर्षणको रुपमा परिचित रोटे पिङ र लिङ्गे पिङ लोप हुँदै गएका हुन ।

केही वर्ष अघिसम्म दसैँ सुरु हुन नपाउँदै गाउँघरमा युवाहरू पिङ हाल्न व्यस्त हुन्थे । गाउँका युवा युवती भेला भएर पिङ हालेर रमाइलो गर्ने गरिन्थ्यो । पहिले दसैँमा मनोरञ्जनको एक साधन रुपमा हेरिएको रोटे पिङ र लिङ्गे पिङ अहिले लोप हुँदै गएको हो । साथै कास्की, पर्वत, बागलुङ लगायतका जिल्लाका गाउँघरतिर दसैँको रौनक थप्ने पिङ अहिले देखिन छोडिएको छ । 

अधिकाँस युवाहरू वैदेशिक रोजगारीमा गएका कारण गाउँ घरमा दसैँमा पिङ हाल्ने मान्छेको पनि अभाव छ भने अर्को तिर प्रविधिको विकाससँगै पिङभन्दा मानिसहरू प्रविधिसँगै रमाउन थालेपछि गाउँघरतिर पिङ हराउन थालेको बताउनुहुन्छ कास्की अन्नपूर्ण गाउँपालिका घान्द्रुकका देव बहादुर गुरुङ ।

गाउँघरमा दसैँमा एक पटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ  । सोही मान्यता अनुरूप पहिले पहिले विभिन्न गाउँमा पिङ हालेर रमाइलो गर्ने ठाउँ आजभोलि भने सुनसान छ ।

विशेष गरी दसैँ र तिहारमा खेलिने पिङको प्रचलन वा परम्परा आज भोलि भने करिब हट्न लागेकोमा स्थानीयवासी भने चिन्तित देखिन्छन् । 

दर्शै मनाउन शहर भएकाहरू गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टिभीमा व्यस्त हुने, साथीभाइ बीच खानपिन गरेर रमाइलो गर्ने प्रचलन हिजो आज बढेको पाइन्छ ।

आजभोलि पिङहरू हराएको अचेल सबै मोबाइल र इन्टरनेटमा रमाउन थालेको बताउँदै पर्वतको विहादी गाउँपालिकाका जनक भुषाल चाडपर्वमा पिङ मात्र नभई अन्य मौलिकता समेत हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button