गाउँ गाउँमा निःशुल्क अल्ट्रासाउन्डको व्यवस्था

धनकुटा । गर्भवती महिलाहरूको लागि छथरजोरपाटी गाउँपालिकाले गाउँ गाउँमा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड जाँच कार्यक्रम शुरु गरेको छ ।
पालिकाको स्वास्थ्य शाखाले वडा नं. ३ को ताँखुवा स्वास्थ्य चौकीबाट आइतबार देखि २ दिने कार्यक्रम गरेर यसको सुरुवात गरेको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलको अध्यक्षता भएको कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अल्ट्रासाउन्ड जाँचको पहिलो दिन १५ जना गर्भवती महिलाहरूले जाँच गराएको ताँखुवा स्वास्थ्य चौकीका प्रमुख पुष्पराज ओझाले जानकारी दिनुभयो । २४ गतेबाट शुरु गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड जाँच कार्यक्रम कार्तिकबाट सबै वडामा सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख डङ्गोलले जानकारी दिनुभयो ।
अल्ट्रासाउन्ड जाँच कार्यक्रम शुरु भएका सबै ६ वडाहरूमा महिनाको १ पटक निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड जाँच कार्यक्रम सेवा दिइने स्वास्थ्य शाखाले जानकारी दिएको छ । पालिका,प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।
ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरूको अवस्था बेलैमा पत्ता लगाई आमा तथा नवजात शिशुको मृत्युदर घटाउन यो कार्यक्रम लागु गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्