बाजुरामा सुख्खा पहिरो : पहिरोका कारण कर्णाली नदी थुनिन थाल्यो

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ रूडी गाउँको मुनिबाट खसेको पहिरोका कारण कर्णाली नदी थुनिन सुरु भएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर –१ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै बिहानदेखि सुख्खा पहिरो बग्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराले बताउनुभएको छ।
यसअघि साउनमा पनि उक्त स्थानमा पहिरो जाँदा कर्णाली नदी थुनिएको थियो।
रुडि गाउँको मुनीबाट मङ्गलवार आजदेखि निरन्तर सुख्खा पहिरो खस्न थालेको भन्ने खबर पश्चात् इलाका प्रहरी चौकी कोल्टीबाट प्रहरी निरीक्षक सहितको टोली त्यहाँ गइसकेको प्रहरी प्रमुख महराले जानकारी दिनुभयो ।
बिहानदेखि निरन्तर पहिरो खस्न थालेपछि कर्णालीलाई साँगुरो बनाएर केही भाग थुनिएको छ । कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाको कार्यालयदेखि जुड्डीमा रहेको प्रहरी चौकी समेत उच्च जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल बिकले बताउनुभयो ।
गाउँपालिकाको कार्यालय समेत जोखिममा रहेकाले कार्यालयको सामान समेत सार्न सुरु गरिएको प्रवक्ता बिकले जानकारी दिनुभएको छ।
नदी थुनिन थालेपछि कर्णाली करिडोर सडकको केही भाग समेत जोखिममा परेको छ। सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूणी गाउँका १ सय ५० घरधुरीसहित कर्णाली आसपासका दर्जनौँ गाउँहरू जोखिममा रहेको स्थानीय गौरी सार्कीले बताउनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्