तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ गाउँमा विजया दशमीको रौनकता

जनकपुरधाम । विजय दशमीको अवसरमा मिथिलासहित तराई मधेसका जिल्लाहरूमा मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमको आयोजनामा वृद्धि भएको छ । 

खास गरेर गाउँ गाउँमा रहेको पुराना तथा नयाँ दुर्गा मन्दिरमा माटो प्रतिमाको निर्माण गरेर विधिपूर्वक दुर्गाको पूजा आराधना गर्ने चलन रहेको छ । 

यसका साथै पूजासहितको कार्यक्रमलाई व्यवस्थित किसिमले सम्पादन गर्नका लागि दुर्गा पूजा समिति नै गठन गर्ने चलन रहेको छ । 

कतिपय पुराना मन्दिरहरूमा वर्षेनी रुपमा नै पूजा समितिको चयन गरेर वर्ष भरिका पूजा कार्यक्रम सञ्चालन गर्ने तथा मन्दिरको चल अचल सम्पत्तिहरूको व्यवस्थापन सहितको काम गर्ने अभिभारा दिने चलन रहेको छ । 

दुर्गा पूजाले तराई मधेसका जिल्लाहरूमा निक्कै चहलपहल बढ्ने गरिन्छ । खास गरेर बडादसैँका अवसरमा धार्मिक कार्यक्रमका अतिरिक्त पारिवारिक मिलन, सांस्कृतिक कार्यक्रमको आयोजना तथा राम्रा लुगा लगाउने एवं मिठो खाने चलनले गाउँ गाउँको रौनकता बढ्ने गरेको छ ।

यतिमात्र नभएर गाउँका सबै व्यक्तिहरू गाउँमा नै फर्किने हुनाले गाउँको रौनकता पनि बढ्ने गरेको छ  । यस वर्ष प्रदेश नंं २ मा कोरोनाको अवस्था सामान्य भएका कारणले ठाउँ ठाउँमा मेलाको पनि कार्यक्रम आयोजना गरेकाले निक्कै भिड बढेर गएको छ । 

सहरी क्षेत्रमा स्थायी रुपमा बसोबास गर्नेहरूले सहरी क्षेत्रमा नै दुर्गाको पूजा आराधना गरेर मनाउने गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button