तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदैछ पिङ

लमजुङ । हिन्दुहरूको महान् पर्व दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि  ठूला सहर बजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । 

विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहर बजारमा दर्जनौँ रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । बिस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोबाइल, ल्यापटप,  र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको बेँसीशहर नगरपालिका–८ की बृद्धा  चिजकुमारी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा दसैँ–तिहारमा पिङको ठूलो महत्त्व हुन्थ्यो । वर्षमा एक चोटि धर्ती छोडे गति परिन्छ भनिन्थ्यो । त्यसैले उमेर नाघेकाहरू पनि एकै पटक भए पनि पिङमा मच्चिने गर्दथे तर अहिले आधुनिक जीवनशैलीप्रति युवापुस्ता आकर्षित भएका कारण यो परम्परा लोप हुँदै जान थालेको हो। ” 

उहाँले भन्नुभयो, “पहिले पहिले त टोल टोलमा युवा तथा बालबच्चा पिङमा झुम्मिएको देखिन्थ्यो तर अहिले मुस्किलले मात्र कतै–कतै पिङ खेलेको देखिन थालेकाले अब यस्को संरक्षण गर्नुपर्ने भएको छ । ”

मर्स्याङ्दी गाउँपालिकाका अमरजङ गुरुङले भन्नुभयो, “दसैँका बेला यहाँका बालबच्चादेखि वयस्क पनि केही वर्ष अघिसम्म लिङ्गेपिङ, रगटेपिङ दुवै टोल टोलमा हालेर खेल्थे । त्यसका साथै धेरैका घर–घरमासमेत डोरी बाटेर पिङ हाल्ने गरिन्थ्यो तर अहिले घर–घरमा त के गाउँमै पनि पिङ देख्न मुस्किल भएको उहाँको भनाइ थियो ।” त्यस्तै, दोर्दी गाउँपालिका– ३ का बुद्धिमान श्रेष्ठले भन्नुभयो, “१०/१२ वर्ष अघिसम्म गाउँका टोल टोलमै रगटेपिङ बनाएर खेल्ने गरे पनि अहिले त मुख देख्न पनि नपाइने अवस्था आयो । वर्षमा एक चोटि धर्ती छोड्नुपर्ने मान्यता भए पनि युवा पुस्ताको बेवास्ताले यस्ता संस्कृति हराउने नै हो कि भन्ने चिन्ता लागेको छ ।”  

विकासको क्रमसँगै विभिन्न मेला तथा  महोत्सवमा राखिने आधुनिक प्रविधिका पिङ खेल्न पाइने भएकाले पनि पिङप्रति चासो हराउन थालेकाले संरक्षण गर्न कठिन हुने भएको श्रेष्ठले बताउनुभयो ।  

सानोमा दसैँ नजिकिँदै गर्दा दाइ पिङ हाल्न थाल्थ्यो, मलाई पनि रमाइलो लाग्थ्यो दसैँ आएको जस्तो महसुस हुन्थ्यो । रमाइलो मानेर पालैपालो सबै जना मिलेर  पिङ खेलिन्थ्यो, प्रत्येक वर्षको दसैँ–तिहारमा पिङ  खेलेर हुर्कँदै आएको क्व्होलासोथर गाउँपालिकाकी प्रिय गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँलेले अन्य पिङ हाल्दै आए पनि रगटेपिङ निर्माण गर्नका लागि धेरै समय लाग्ने, पिङमा आवश्यक सामग्री बनाउने मान्छेको कमी हुने र धेरै खर्च लाग्ने भएकाले गाउँ–गाउँमा यस्ता पिङ लोप हुँदै थालेको छ । ”

बेँसीशहर नगरपालिका–११ चिती रामचोक बेँसीकी सिर्जना श्रेष्ठले भन्नुभयो, “यहाँ १० वर्ष अघिसम्म रगटेपिङ खेल्नका लागि युवायुवतीको ठूलो भीड हुने गर्दथ्यो । पिङ खेल्नका लागि तँछाडमछाड गर्नु पर्थ्यो, पालो पर्खँदा पर्खँदा घण्टौँ समय लागे पनि यहाँका युवायुवती रगटेपिङ खेल्ने गर्थे । त्यही पिङका लागिसमेत बेला बखत ठूलो झगडा हुन्थ्यो तर अहिले दसैँका बेलामा पिङ राख्ने ठाउँ सुनसान भएकाले युवायुवती पनि देख्न छोडेको छ ।” 

गाउँ होस् या सहर  युवायुवतीले यस्तो परम्परागत संस्कृतिको पिङ खेल्न चासो दिनुपर्ने यहाँको बुढापाकाले बताए यसै गरी अन्य परम्परा पनि लोप हुँदै जालाकी भन्ने  उनीहरूमा चिन्ता थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button