‘दुई वर्षपछि देखियो संसार’
सोलुखुम्बु । करिब दुई वर्षअघि आँखाको ज्योति गुमाउनुभएका सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिका–४ का ७४ वर्षिया छिरिङ शेर्पाले हर्षका आशु झार्दै भन्नुभयो, ‘अब फेरी यो संसार देख्न सक्छु भन्ने मलाई लागेको थिएन, तर आँखाको अप्रेसन गर्ने बित्तिकै पहिलाको जस्तै आँखा देख्ने भएको छु ।’ शल्यक्रिया पश्चात् दोस्रो पटक संसार देख्न पाएकोमा खुसी हुँदै उहाँले चिकित्सकलाई धन्यवाद दिनुभयो ।

दुवै आँखा पूरै नदेख्ने शेर्पाको दुवै आँखाको सफल शल्यक्रिया भएपछि उहाँले तत्काल आँखा दुख्नुभएको हो । त्यस्तै, सोही गाउँपालिका–५ की माइली शेर्पाले दुवै आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताई रहनुभएकोमा शल्यक्रिया पछि आँखा देख्न थालेपछि खुसी भएको बताउनुहुन्छ ।
खुम्बु पासाङल्हमू गाउँपालिका–४ स्थित खुन्दे अस्पतालमा सञ्चालन गरिएको आँखा शिविरमा उहाँहरूको देब्रे आँखा र अन्यको सानो ठूलो गरी २९ जनाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । गाउँमै आँखाको शल्यक्रिया तथा उपचार गर्न पाउँदा लामो समयदेखि आँखाको विभिन्न समस्यामा रहेका स्थानीय खुसी भएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठान, खुन्दे अस्पताल, हिमालयन ट्रस्ट नेपाल, जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र खुम्बु पासाङल्हमू गाउँपालिकाको संयुक्त आयोजना तथा हिमालयन मोतिया बिन्दु परियोजनाको विशेष सहयोगमा भएको शिविरमा ११ पुरुष र १८ महिलाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र फाप्लुका इन्चार्ज पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डाक्टर रीता गुरुङ, कार्यक्रम निर्देशक नवीनकुमार राईको उपस्थिति रहेको थियो । शिविरमा खुम्बु क्षेत्रका ९२७ जनाको आँखा परीक्षणबाट २९ जना शल्यक्रियाका लागि छनौट गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्