सामाजिक सुरक्षा भत्ता लिनै मुस्किल

तनहुँ । ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरूलाई जीवन उपयोगी बनेको सामाजिक सुरक्षा भत्ता लिन नागरिकलाई मुस्किल परेको छ । दशैको मुखैमा घरधन्दा छोडेर भत्ता बुझ्न आएकाहरूले बैकको लामो लाइनमा बस्नु पर्दा समस्या भएको गुनासो गरे ।
सामाजिक सुरक्षा भत्ताले दसैँ मान्ने योजना बनाएकी शुक्लागण्डकी–११ नाम्सीकोटकी बृद्धा अइतीमाया विक बिहानदेखि लाइनमा बस्नुपर्दा ढाड गोडा दुखेर हैरानी खेप्नु परेको बताउनुभयो । औषधीदेखि घर व्यवहार चलाउन सामाजिक सुरक्षा भत्ता उपयोगी भएको बताउने ७० बर्षीया विकले सुरक्षा भत्ता दिने सरकारलाई जेठो छोरा मानेको बताउनुभयो । ‘छोराले देला छैन, छोरीले देला छैन सरकारलाई जेठो छोरा मान्न परेन त ?’ उहाँले प्रश्न गर्नुभयो ।
यति बेला जिल्लाका शुक्लागण्डकी नगरपालिका सहित अन्य स्थानका वित्तीय संस्थामा दशैका लागि पैसा निकाल्नेहरूको भिडभाड देखिन्छ ।

चौमासिक रुपमा लक्षित वर्गले प्राप्त गर्ने भत्ता रकम स्थानीय सरकारले ढिला निकासा गरिदिँदा बैकमा ज्येष्ठ नागरिकहरूले सास्ती भोग्नु परेको मुक्तिनाथ विकास बैक दुलेगौडाका शाखा प्रबन्धक सरोज गौतम बताउनुहुन्छ ।‘चाडबाडको मुखैमा बल्ल नगरपालिकाले चेक उपलब्ध गरायो’, उहाँले भन्नुभयो ‘सबैलाई सेवा दिन मुस्किल हुन्छ, चाडपर्वमा भत्ताकै आवश्यकता पर्नेलाई मात्र दिने व्यवस्था गरौँ भन्दा समेत राम्रो समन्वय भएन ।’ शाखा प्रबन्धक गौतमले सकेसम्म सबैलाई रकम सहज रुपमा प्रदान गर्न पहल गरिरहेको बताउनुभयो ।
यता नगरपालिकाको स्थानीय पञ्जिकरण शाखाले भने नगरपालिका र बैकको लापरबाहीका कारण ज्येष्ठ नागरिकले सास्ती बेहोर्नुपरेको स्वीकार गर्न चाहँदैन । शाखाकी प्रमुख मञ्जु सुवेदीले समन्वयमा समस्या नभई विभागबाटै अख्तियारी ढिला प्राप्त भएको जानकारी दिनुभयो । ‘यस अघि चौमासिक रुपमा खातामा जम्मा गरिन्थ्यो, यस पटकबाट त्रैमासिक रुपमा जम्मा गर्नुपर्ने भएकाले सिस्टम अपडेट हुन समय लाग्यो ।’ सुवेदीले भन्नुभयो ‘एक वडा एक बैक गराउन पहल गरेर आगामी दिनमा समस्या समाधान गर्ने तयारी छ ।’
शुक्लागण्डकी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्नेको सङ्ख्या ५ हजार ६ सय ५ रहेको छ । यहाँ २७ सय ९७ जना ज्येष्ठ नागरिक, ६० बर्ष माथिका दलित लाभग्राही ४ सय ८२, एकल महिला ६ सय ११, विधवा नारी ७ सय ७१ पूर्ण अपाङ्ग १ सय ५२ सहित ९ सय ४४ जना रहेकाको शाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्