तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराको परशुराम नगरपालिकामा महिनौँ देखि टेलिफोन सेवा अवरुद्ध

डडेलधुरा । भित्रिमधेस क्षेत्र परशुराम नगरपालिकाका दर्जनौँ बस्तीहरूमा महिनौँ देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । परशुराम नगरपालिका–७ सादनी स्थित नमस्ते टेलिफोन सेवाले काम गर्न छाडेकोले महिनौँ देखि परशुराम नगरपालिकाका– ५, ६, ७ र ८ का दर्जनौँ बस्तीहरूमा टेलिफोन सेवा अवरुद्ध भएको परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशव बोहराले जानकारी दिनुभयो ।

नेपालीहरूको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्न बाट वञ्चित भएका छन् । दशैको शुभकामना आदानप्रदान गर्न समेत नपाएको गुनासो गर्न थालेका छन् ।

महिनौँ देखि टेलिफोनको टावरले काम नगर्दा नगरपालिकाको झण्डै आधा बस्तीका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रत्यक्ष असर परेको छ । नेपाल टेलिकमको डडेलधुरास्थित कार्यालयलाई पटक पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि पहल नगरिएको वडाध्यक्ष बोहराको गुनासो छ ।

गत असार महिनाको २० गते देखि सादनीमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीय अगुवा भरतबहादुर धानुकले जानकारी दिनुभयो । महिनौँ देखि टेलिफोनले काम गर्न छाडेकाले परशुराम नगरपालिकाको पश्चिमी क्षेत्रका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उनको गुनासो छ । दशैको मुखमा एक अर्कालाई शुभकामना आदानप्रदान गर्न समेत नसकिएको धानुकले बताउनुभयो ।

पटक पटक विद्युत् अवरुद्ध हुने गरेकाले सादनी स्थित टेलिकमको टावरमा विद्युत् जडानको भर गर्नु भन्दा सौर्य ऊर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई स्थानीयले अनुरोध गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button