अछाममा संस्थागत प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि

टेकराज भण्डारी अछाममा स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूति गराउनेको सङ्ख्या बढ्दो क्रममा छ ।
स्वास्थ्य कार्यालय अछामले आर्थिक वर्ष २०७७।०७८ को स्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा आगामी योजनाबारे पत्रकारहरूसँग अन्तरक्रियामा सो जानकारी गराइएको हो ।
१० वर्ष अघि जम्मा २५ दशमलव २५ प्रतिशतले मात्रै स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूति अर्थात् संस्थागत प्रसूति गराएका थिए भने आर्थिक वर्ष २०७७।०७८ मा ८६ दशमलव ६ प्रतिशतले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माएका छन् । यो निकै सकारात्मक पक्ष हो ।
हाल अछाम जिल्लामा जम्मा ८१ वटा वर्थिङ सेन्टर मार्फत सुरक्षित प्रसूति सेवा प्रदान भइरहेकोले यसमा उल्लेख्य सुधार भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।
यो सँगै अछाममा गत आर्थिक वर्षमा १०९ जना बच्चा मृत जन्मिएका छन् । स्वास्थ्य कार्यालय अछामका अनुसार स्वास्थ्य संस्थामा ढिलोगरि पुग्ने, यातायातको असुविधा, परिवारका सदस्यको असहयोग लगायतका विभिन्न कारणले यो समस्या देखिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अछाम अन्तरगत जिल्लाभरिमा गत आर्थिक वर्षमा भए गरेका कामको समग्र अवस्थाबारे जानकारी सहित आगामी योजनाको विषयमा पनि छलफल गरेको थियो ।
छलफलका क्रममा जिल्लाको समग्र स्वास्थ्य संस्थाहरूको अवस्था विश्लेषण, पूर्ण खोपको अवस्था, परिवार योजना, सुरक्षित प्रसूति सेवाको अवस्था लगायतका विषयमा कार्यालय प्रमुख ढुङ्गानाले जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्