अस्पताल र विद्यालयको मन्त्रीद्वारा अनुगमन

अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउँद विभिन्न विकास निर्माणको अनुगमन तथा गृह जिल्लाको अवस्था बुझ्न व्यस्त बन्नुभएको छ ।
लामो समय पछि गृह जिल्ला आउनुभएका राज्यमन्त्री साउँद पार्टीको सङ्गठन बिस्तार सँगै जनताको घरदैलोमा पुग्न थाल्नुभएको छ ।
पछिल्लो समय माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादीमा रहेर सक्रिय राजनीतिमा रहनुभएका राज्यमन्त्री साउँद आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन र भेटघाट सँगै मेल्लेख गाउँपालिकाका विभिन्न भौतिक संरचनाको अनुगमन गर्नुभएको छ ।
राज्यमन्त्री सहितको एक टोलीद्वारा मेल्लेख गाउँपालिकाका भर्खरै सञ्चालनमा आएको १५ शय्याको आधारभूत अस्पताल सहित २ वटा विद्यालयको अनुगमन गर्नुभएको हो ।
गाउँपालिकाले एमबिबिएस डाक्टर सहित आधारभूत अस्पताल सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै मन्त्री साउँदले अस्पतालमा अहिले खानेपानीको समस्या रहेको भन्दै अस्पतालमा खानेपानीको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै राज्यमन्त्री साउँदले मेल्लेख गाउँपालिकाको जनशिखा क्याम्पस र जनता माविको पनि अनुगमन गर्नुभएको छ । स्कुल र क्याम्पसको अनुगमन गर्दै विद्यालयमा फर्निचर लगायतका समस्या समाधान गर्दै पठनपाठन प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
स्कुल र क्याम्पसमा भएका समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै कोरोना महामारीले थला परेको शिक्षण सिकाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्