गह्रौँसुर मन्दिरमा आउने भक्तजनका लागी निःशुल्क पानी

स्याङ्जा । स्याङ्जाको धार्मिक तथा ऐतिहासिक मन्दिर गह्रौसुर मन्दिरमा बडा दशैँको अवसरमा भक्तजनहरूका लागी निःशुल्क पिउने पानीको व्यवस्था गरिएको छ । वालिङ ८ काफलडाँडाका पङ्गेनी परिवारले मन्दिरमा आउने भक्तजनहरूका लागी निःशुल्क पिउने पानी मिनिरल वाटरको व्यवस्था गरेका छ ।
स्व.एकदेव, देवका र नरभुपाल पङ्गेनीको स्मृतिमा उहाँका परिवारहरू आमा छोरा, बुहारी नातिहरूले पञ्चमीतिथि देखि नै पिउने पानीको व्यवस्था गर्दै आउनुभएको छ । उहाँहरूको पिउने पानी सौजन्य नवमी तिथिसम्म रहने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।
दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मन्दिरमा भक्तजनहरूले देवी भगवतीको पूजा आराधना गर्ने गर्छन् । गह्रौँसुरलाई धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न धर्मशाला, बंगैचा, मन्दिर लगायतका अन्य भौतिक पूर्वादारहरू समेत निर्माण गरिएको छ । त्यस्तै मन्दिर पार्किङ शुल्क समेत हटाइएको छ । यसअघिका पार्किङ शुल्क लिइँदै आइएपनि सोमबारदेखि पार्किङ शुल्क हटाइएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ बजारबाट ८ किलोमिटरको कच्ची ग्रामीण सडक हुँदै पुग्न सकिने गह्रौसुरमा यसअघि पार्किङ शुल्कलाई सडक मर्मतमा प्रयोग हुँदै आएको थियो । तर अहिले सडकको स्तरोन्नति हुँदै गएपछि पार्किङ शुल्क हटाइएको हो । गह्रौँसुर मन्दिर ५ सय ५० वर्ष पुरानो मानिन्छ । तत्कालीन बाइसी चौबिसे राज्य अन्तर्गतको गह्रौँकोट राज्यका पहिला राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक गह्रौँसुर मन्दिरमा सडक विस्तार, पिउने पानी, अतिथि गृहलगायतको व्यवस्था गरिएसँगै भक्तजनहरूको आकर्षण बढेको छ ।
गत वर्षको बडादशैँ भन्दा यस पटकको दशैँमा भक्तजनहरूको आकर्षण बढेको छ । कोरोना संक्रमण केही कम हुँनु, कोरोना विरुद्धको खोप लगाइनु, मन्दिरमा थप भौतिक संरचनाहरू थपिनु र प्रचारप्रसारका कारण भक्तजनहरूको आकर्षण बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणले बताउनुभयो । सोमबार मात्रै २२ सय भक्तजनहरूले मन्दिरको दर्शन गरेका छन् । घटस्थापनादेखि पञ्चमी तिथिसम्म सयभन्दा बढी बली देवीलाई चढाइएको छ भने पञ्चवली समेत दिनहुँ आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएका छन् ।
यहाँ स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, बुटवलबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । दशैँ अगाडि गरिएको पुनर्निर्माण, स्वर्ण गजुर तथा ताम्र छादनले समेत दर्शनार्थीहरुलाई आकर्षित गरेको हो । विशेष गरी यहाँ विजया दशमी तथा चैते दशैँमा समेत हजारौँको सङ्ख्यामा बोका, पाडा, हाँसको बली दिने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्