रेल्वे विधेयक, २०७६ फिर्ता गर्न राष्ट्रिय सभाको सहमति

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ फिर्ता गर्न सहमति दिएको छ ।
राष्ट्रिय सभाको आजको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले रेल्वे विधेयक, २०७६ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रिय सभाको सहमतिका लागि पेश गर्नुभएको प्रतिनिधिसभाको सिफारिस सहितको प्रस्ताव बहुमतले पारित गरेको हो ।
यसअघि बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो ।

बैठकको शुरुमा बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीको मोतीपुरमा सुकुम्वासी मारिएको घटनाको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नै जिल्लामा सुकुम्वासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको भन्दै यो घटनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएको बताउनुभयो ।
प्रमुख सचेतक भट्टराईले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा आइतबार सुकुम्वासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्