पहिलो पटक ‘सुशासन तथा भ्रष्टाचार’ सम्बन्धी पढाइ सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारणसम्बन्धी स्नातकोत्तर तहको पढाइ सुरु गरेको छ ।
सरकारी र गैरसरकारी क्षेत्रका प्रयासले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेका बेला पहिलो पटक सुरु गरिएको सुशासन र भ्रष्टाचार निवारण विषयको अध्ययनले मुलुकमा भ्रष्टाचार न्यूनीकरण गर्न मद्दत पुग्ने आशा राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा ४० जना विद्यार्थी आजभोलि देशमा सुशासनको सपना पढिरहेका छन् । यद्यपि ती विद्यार्थीको औपचारिक पढाई पहिलो भने होइन, विभिन्न विषयमा उच्च शिक्षा पूरा गरिसकेका तथा सरकारी सेवामा काम गरिरहेकाहरू पनि कक्षामा सुशासन र समृद्धिको कखरा सिकिरहेका छन् । उनीहरूको लक्ष्य हो मौलाउँदै गएको भ्रष्टाचारबारे अध्ययन अनुसन्धान गरी त्यसको निवारण र मुलुकको सुशासन कायम गर्नु ।
अर्थात् त्रिभुवन विश्वविद्यालयले एन्टि करप्सन एकेडेमीको सहयोगमा पहिलो पटक स्नातकोत्तर तहमा सुरु गरेको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन पूरा गरेपछि उनीहरूले भ्रष्टाचार सम्बन्धी विज्ञता हासिल गर्नेछन् । विकास र समृद्धिमा बाधक बन्दै आएको भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न उनीहरूको योगदान महत्त्वपूर्ण रहन सक्नेछ ।
उक्त विषय अन्तर्गत भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनौती, तथ्याङ्क विधिको विकास र भ्रष्टाचार, भ्रष्टाचार विहीन कानुन र संयन्त्रका साथै नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्ष लगायतका विषयमा पठनपाठन हुनेछ ।
यो विषय अध्ययनका लागि एक विद्यार्थीले दुई वर्षमा न्यूनतम एक लाख ७३ हजार रुपियाँ खर्च गर्नुपर्नेछ । दुई वर्षको समयावधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्यक्रममा समावेश गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक विज्ञान सङ्कायका डीन प्राध्यापक डा.कुसुम शाक्य पहिलो व्याजको पढाइ पूरा भएपछि विज्ञहरू तयार हुनेछन् त्यसपछि थप कार्यक्रम बनाइने बताउनुहुन्छ ।
विद्यालय तहदेखि नै उक्त विषयको अध्ययन हुनुपर्ने अभियान चलेको लामो समय भइसक्दा त्रिविले उच्च तहमा हालसालैबाट पढाइ सुरु गरेको हो । डीन डा.शाक्यले नेपालको शैक्षिक इतिहासमा पहिलो पटक पढाइँदै गरिएको सो विषयको अध्ययनका लागि ५० जनाको कोटाभन्दा झन्डै दोब्बरले आवेदन भरेको जानकारी दिनुभयो ।
मुलुकका दिनानुदिन मौलाउँदै गएको भ्रष्टाचार न्यूनीकरण गर्न दक्ष जनशक्ति उत्पादनमा यो विषयको अध्ययन महत्त्वपूर्ण मानिएको छ । नेपालको शैक्षिक इतिहासमा पहिलो पटक उच्च तहबाट सुरु गरिएको भ्रष्टाचार निवारण सम्बन्धी अध्ययनका लागि अभियन्ता भरत जङ्गमले भ्रष्टाचारसम्बन्धी ‘एन्टीक्रप्टलोजी’ सिद्धान्त नै तय गरेर लामो समयदेखि अभियान चलाउँदै आउनुभएको थियो ।
सोही सिद्धान्तकै आधारमा तयार भएको उक्त ‘एन्टीक्रप्टनोलोजी’को पाठ्यक्रमअनुसार यो विषयको उच्च तहमा पढाई विश्वमै पहिलो भएको अभियान्ता जङ्गमको दाबी छ ।
भ्रष्टाचारको नियन्त्रण शिक्षाका माध्यमबाट मात्रै हुन्छ भन्ने चाहिँ होइन । भ्रष्टाचार नियन्त्रण गर्न त हरेक व्यक्तिमा नैतिक आचरण, कानुनको पालना, इमानदारिता र व्यवहारबाट सम्भव मात्रै सम्भव छ । व्यक्तिमा सत् विचार निर्माणसँगै सुशासन र भ्रष्टाचार सम्बन्धमा सुधार ल्याउन उच्च तहमा पहिलो पटक औपचारिक रुपमा सुरु गरिएको सो अध्यापनले मुलुकमा सुशासन कायम गर्न थोरै भए पनि टेवा पुग्ने आशा गर्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्