सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

चितवन। जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहाँले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “वास्तविक सुकुम्बासी पहिचान गराँै, तितरबितर पार्नु समस्याको समाधान होइन ।”
फरक प्रसङ्गमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउँछ ।” प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन ।”रासस








प्रतिक्रिया राख्नुहोस्