तपाईँ सुन्दै हुनुहुन्छः

मोतीपुर झडपमा चार जनाको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबिच झडप हुँदा चार जनाको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाण गङ्गा नगरपालिका–४ का  रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताउनुभयो । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू समेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button