तपाईँ सुन्दै हुनुहुन्छः

आँखाको ज्योति ६ वर्षपछि पुनः फर्किएपछि निक्कै खुसी

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री आफ्नो आँखाको ज्योति ६ वर्षपछि पुनः फर्किएपछि निक्कै खुसी हुनुहुन्छ । मोतिया बिन्दु भएपछि उनले दुवै आँखाको ज्योति गुमाएका थिइन् ।

आँखाको उपचारका लागि धेरै पटक अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किएकी कलावतीको नागरिक सुशासन समाज कञ्चनपुरको पहलमा दाताहरूबाट रकम जुटाई दुवै आँखाको शल्यक्रिया भएको हो । 

नागरिक सुशासन समाजको सहयोगमा आँखाको शल्यक्रिया भएपछि अहिले उहाँले दुवै आँखाले देख्न थाल्नु भएको छ । आर्थिक सहयोग जुटाई आँखाको शल्यक्रिया गरी पुनर्जीवन प्राप्त गर्न सहयोग गर्नेहरूको प्रशंसा गर्नुहुन्छ । 

डेढ कट्ठा जग्गामा झोपडी बनाई बस्दै आएका खत्री परिवारका स–साना चार छोराछोरी छन् । कलावतीका श्रीमान् पनि शारीरिक रूपमा अशक्त छन् ।

कलावतीले पनि दुवै आँखा नदेख्ने भएपछि उनीहरूको परिवार चलाउन कठिन भएको थियो । उनका श्रीमानले अधियामा प्लाष्टिका बोरी ल्याई त्यसबाट डोरी बनाई बेचेर नुन तेल खर्च जुटाउने गरेका थिए । लुगाफाटो र साँझ बिहानको खानाका लागि छिमेकीसँग हात फैलाउनु पर्ने खत्री परिवारको बाध्यता रहेको छ ।

दुवै आँखाले पुनः देख्न थालेपछि अब मजदुरी गरेर भए पनि परिवार पाल्न कलावतीको भनाई छ । उहाँ मजदुरी गरेर भए पनि परिवारका लागि साँझ बिहानको छाक टार्न सकिने भएको छ । 

नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहराले समाजमा रहेका असहाय, गरिब र विपन्नहरूलाई सहयोग गर्नु मानवीय पुण्यको काम भएको बताउँछन् । उहाँले समाजमा विद्यमान सङ्घ संस्था र जनप्रतिनिधिहरूको पहिलो कर्तव्य भए पनि कुनै पनि निकायले कलावतीको अवस्थालाई नहेर्दा दाताहरूको सहयोगमा आँखाको शल्यक्रिया गर्नमा सघाउ पुर्‍याएका छौँ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिका १० झलारीका ६० वर्षीय जनकलाल डगौराको समेत समाजको पहलमा मोतिया विन्दुको आँखाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइदिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button