तपाईँ सुन्दै हुनुहुन्छः

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस र हवाई फायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउण्ड गोली चलाइएको जानकारी दिनुभयो । 

गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको उहाँले बताउनुभयो ।  प्रजिअ तिवारीले भन्नुभयो, “हामीले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियौँ र जग्गा अतिक्रमण नगर्न सूचना पनि जारी गरेका थियौँ, तर त्यसलाई उल्लङ्घन गर्ने काम भयो ।”  उहाँले स्थिति नियन्त्रणमा आएको जानकारी दिनुभयो । 

प्रहरीले अस्थायी रूपमा बनाइएका टहरासमेत भत्काएको छ । 

झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । 

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्वासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

विसं २०७२ चैत १ गते मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । 

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो । सो जग्गा अतिक्रमण गर्न साबिक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीयवासी बुटवल आएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button