गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्कनेको भिड

कञ्चनपुर । नेपालीहरूको महान् चाड दसैँ र तिहार नजिकिए सँगै रोजगारीको सिलसिलामा रहेका नेपालीहरू चाडपर्व मनाउन घर फर्किन थालेका छन् ।
रोजगारीको लागि भारत पसेका स्वदेश फर्किने नेपालीहरूको सिमानाकामा भीड छ । अहिले दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्किरहेका छन् । कोरोना महामारीका कारण सुनसान रहेको सीमावर्ती बजारमा चहलपहल बढेको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकामा दुई सातायता घर फर्किनेको चाप बढेको छ । अहिले दैनिक एक हजार÷पन्ध्र सयको सङ्ख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन् ।

जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरका अनुसार गत दुई सातामा २४ हजार नेपाली स्वदेश फर्केका छन् । नाकामा भिडभाड हुन थालेपछि प्रशासनले सुरक्षा व्यवस्था समेत कडा पारेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सिद्धराज न्यौपानेले दैनिक पन्ध्र सयको हाराहारीमा स्वदेश फर्किरहेका छन् गत १० गते यता २४ हजार नेपाली स्वदेश फर्केका बताउनुभएको छ ।
उहाँले नाकामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले चाडपर्व लक्षित योजना बनाए सुरक्षा कडा पारिएको बताउनु भएको छ ।
भारतबाट घर फर्किनेहरूबाट कोरोना सङ्क्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सिमानाकामै कोरोना परीक्षण र कोभिड भ्याक्सिनको व्यवस्था गरेको छ ।

भारतबाट आएका सबैको नाकामा कोरोना परीक्षण गर्ने र संक्रमण देखिए सिधै आइसोलेसनमा राख्ने गरिएको छ ।
गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणपछि संक्रमण पुष्टि भए महेन्द्रनगरस्थित स्वास्थ्य कार्यालयले बनाएको कम्युनिटी हेल्थ इन्स्टिच्युट (आईसीएच) को आइसोलेसनमा राख्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइसीएचको आइसोलेसनमा ७ जना संक्रमित बसिरहेका स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनु भएको छ ।
नाकामा स्वास्थ्य सतर्कता अपनाए पनि नाकामा घण्टौँ लाइन बस्नुपर्दा समस्या हुने गरेको घर फर्किनेहरूको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्