मानसिक रोगका बिरामी बढ्दै
सल्यान । सल्यानमा मानसिक रोगका बिरामी बढ्दै गएको पाइएको छ ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणले झनै मानसिक स्वास्थ्यका बिरामीको सङ्ख्यामा वृद्धि आएको देखिएको छ ।
सल्यान जिल्ला अस्पतालका अनुसार दैनिक १५ देखि २० प्रतिशत बिरामीमा कुनै न कुनै किसिमको मानसिक रोग देखिने गरेको छ ।
कोरोना भाइरस, मादक पदार्थ सेवन, महिला हिंसा, घरेलु हिंसा, वैदेशिक रोजगारी लगायतका कारण जिल्लाका मानसिक स्वास्थ्यका बिरामी हुने गरेको अस्पतालका डा. प्रदीप शर्माले बताउनुभयो । सरकारले मानसिक रोगको औषधी निःशुल्क प्रदान गर्नुका साथै मनोपरममर्श दिँदै आइरहेको उहाँको भनाई छ ।
बढ्दै गएको सहरीकरणसँगै महत्त्वाकाङ्क्षा थपिँदै जानु तर उक्त महत्त्वाकाङ्क्षा पुरा नहुनु, व्यवसायमा असफलता, पारिवारिक बेमेल, लगायतका कारण मानसिक समस्या दिन प्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनुभयो । मानसिक समस्याका कारण आत्महत्या, हत्या, तथा अन्य आपराधिक क्रियाकलाप समेत बढाएको थापाको भनाई छ ।
स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने, औषधी मनोपरामर्शको सेवा लिएमा यसलाई केही कम गर्न सकिने उहाँले बताउनुभयो । मानसिक रोगलाई सामान्य रुपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार ल्याउन सकिने उहाँको भनाई छ ।
मानसिक रोग एक पटक लागेपछि पुन दोहोरिने रोग भएकाले घरपरिवार, समाजले परामर्श दिन आवश्यक रहेको सिएमी नेपालका मनोपरामर्शदाता लोकबहादुर वि.कले बताउनुभयो । दैनिक जीवनमा आउने कठिनाइलाई सामना गर्ने क्षमताको कमी र उनीहरूमा सकारात्मक मनोपरामर्शको अभाव देखिएको उहाँले बताउनुभयो ।
परिवारका कुनै सदस्यलाई मानसिक रोग लागेमा परिवारका अन्य सदस्यले लुकाएर राख्ने र अरूलाई भन्नुहुँदैन लाज हुन्छ भन्ने मान्यताले पनि मानसिक रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाई छ ।
उहाँले मानसिक तनाव, बहुविवाह, आत्मग्लानि, महत्त्वाकाङ्क्षी र गरिबीका कारण बर्षेनी मानसिक रोगीको सङ्ख्या वृद्धि आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्