उदयदेव मन्दिरमा चोरी, सुतेका दर्शनार्थीको १७ हजार लुटियो
बैतडी । बैतडीको पाटनमा रहेको प्रसिद्ध उदयदेव मन्दिरमा चोरी भएको छ । मन्दिरमा राखिएको दान पेटिका फोडेर पैसा चारी भएको प्रहरीले जनाएको छ ।
घटस्थापनाको अघिल्लो राती मन्दिरमा चोरी भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।
दान पेटिकाभित्र कति रुपैयाँ थिए भन्ने खुलेको छैन । तर, एक वर्षदेखि दान पेटिका नखोलेको हुनाले दान पेटिकामा निकै पैसा हुनसक्ने अनुमान गरिएको छ ।
मन्दिरबाट दान पेटिका ल्याएर चोरले मन्दिर गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानीय लवदेव जोशीले बताउनुभयो ।
यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एक जना भक्तजनको पैसा समेत लुटिएको छ । महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न भएकाहरूको खोजी भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । कसले चोरेको हो भन्ने कुरा यकिन नभए पनि २–३ जनामाथि निगरानी राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
पाटनमा रहेको उदयदेव मन्दिर बैतडी जिल्लाकै प्रसिद्ध मानिन्छ । मन्दिरमा महानवमीका दिन राँगा बोकाको बलि सहित भव्य जात्रा लाग्ने गर्दछ । जात्रामा बैतडीका साथै छिमेकी जिल्ला एवम् भारतका दर्शनार्थीहरु आउने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्