तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

जनकपुरधाम । धनुषा जिल्लामा एक महिलाले गरिबीका कारणले आफ्नै दुई नाबालक छोराको हत्या गरेर आफै पनि आत्महत्या गरेकी छिन् । 

जिल्लाको नगराइन नगरपालिका वडा नंं ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती अन्दाजी वर्ष २५ की गुडियादेवी साहले वर्ष ५ अभिषेक र वर्ष ३ का आदित्य साहको घाँटी थिचेर हत्या गरिसकेपछि आफू पनि पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

श्रीमान् गुरुदेव साह दैनिक ज्यालादारीका लागि जनकपुरधाम आएको बेला गुडियाले छोराहरूको हत्या तथा आफै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

शुक्रवार साँझ घटना हुँदा घरमा वृद्धा सासू ससुरा मात्रै थिए । दिउँसो ३ बजे श्रीमान्लाई गुडियाले फोन गरेको केही बेरपछि गुडियाले सो घटना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । 

प्रहरी नायव उपरीक्षक बस्नेतले प्रेम विवाह गरेकी गुडियाको माइती पक्षले यतिको समय बित्दा पनि हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको जानकारी दिँदै मृतकहरूको शव परीक्षण आज गरेर परिवारको जिम्मा लगाइएको छ । 

यसैबीच, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् श्रीमतीका बीचमा कुनै प्रकारको विवाद नभएको पाइएको भए पनि प्रहरीले अनुसन्धान गर्ने काम भने जारी राखेको छ । 

गरिबीका कारणले पनि महिलाले दुई जना नाबालक छोराको हत्या गरेर आफै पनि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button